रौतहट, जेठ २० गते । दुःखका बेला सहयोग गर्ने मानिस नै असल मित्र हुन्छ भन्ने कहानी सुनेका तराई मधेसका युवाले भूकम्प प्रभावित जिल्लाका विभिन्न बस्तीमा पुगेर पुनःनिर्माणमा सक्रियता देखाएका छन् ।भूकम्पले क्षति गरेको घर तथा विद्यालय भवनको पुनःनिर्माणमा सहयोग गर्न रौतहटबाट विभिन्न राजनीतिक दल तथा स्वयम्सेवी संस्थामा आबद्ध युवा स्वयम्सेवक हाल भूकम्प प्रभावित पहाडी जिल्लामा पुगी निर्माणमा जुटेका छन्।

नेपाल विद्यार्थी सङ्घ रौतहट तथा नेकपा एमाले रौतहटमा आबद्ध कार्यकर्ताले स्वयम्सेवकको रुपमा रामेछाप तथा मकवानपुर जिल्लामा विद्यालय तथा सर्वसाधारणको घर निर्माण गरेका छन् ।नेपाल विद्यार्थी सङ्घ रौतहटको एक टोली रामेछाप जिल्लाको खिम्ती गाविस– ३ भुमेथान प्राथमिक विद्यालयको नयाँ अस्थायी भवन निर्माण गरेर फर्किएको छ।

यसैगरी नेकपा एमाले रौतहटका २५ जना स्वयम्सेवी कार्यकर्ताले मकवानपुर जिल्लाको नामटार गाविसमा विद्यालय भवन निर्माण गरिरहेका छन् ।यस्तै अखिल नेपाल खेलकुद महासङ्घ रौतहटले रामेछाप जिल्लाको सुनारपानीमा रहेको विद्यालयको चार वटा कक्षा कोठा निर्माण गरेको छ । यसैगरी नेकपा माओवादी भोजपुराको सक्रियतामा नुवाकोट जिल्लामा विद्यालय निर्माणको काम भइरहेको बताइएको छ।

भूकम्पपीडित सर्वसाधारणका घर तथा विद्यालय भवन निर्माण कार्यमा रौतहटका अन्य सामाजिक सङ्घसंस्था पनि स्वःस्फूर्तरुपमा भूकम्प प्रभावित जिल्लामा जाने तयारीमा रहेका छन्।

पहाडी जिल्लामा भएको महाविपद्लाई आफ्नो दुःख पीडा सम्झँदै सहयोग गर्ने स्वयम्सेवीको सक्रियता सबैका लागि अनुकरणीय रहेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो।
उहाँले हालसम्म पहाडी जिल्लाका भूकम्पपीडितका लागि रौतहट जिल्लामा रु एक करोड बराबरको नगद तथा जिन्सी सामग्री सङ्कलन भएको जानकारी दिनुभयो। रासस

Previous articleस्विजरल्याण्डबाट पठाएको राहत सामग्री ओखलढुंगामा वितरण
Next articleअमेरिकामा हत्या गरिएकी बिद्यार्थी समानताका आरोपितले ८५ बर्षको सजाय पाउने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here