काठमाडौँ, वैशाख १५ गते । शनिबार गोरखालाई केन्द्रविन्दु बनाई गएको विनासकारी भूकम्पको आज मध्याह्न १२ बजेसम्म ७२ घन्टाको अवधिमा ९८ वटा साना ठूला कम्पन मापन गरिएको छ । शनिबार बिहान ११:५६ बजे गोरखाको वार्पाकलाई केन्द्रविन्दु बनाएर गएको ७.६ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म छ रेक्टर स्केलभन्दा ठूला दुई र चारदेखि छ रेक्टर स्केलसम्मका ९६ वटा पराकम्प गएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गोरखाको भूकम्पपछिको ७२ घन्टाको अवधिमा चार रेक्टर स्केलभन्दा ठूला ९८ पराकम्प मापन गरिए पनि अन्य थाहा नहुने चार रेक्टर स्केलभन्दा साना करिब ४०० भन्दा बढी पराकम्प गएको बताइएको छ ।

गोरखाको भूकम्पपछि सोही दिन ३२ मिनेटपछि गोरखालाई नै केन्द्रविन्दु बनाएर ६.६ रेक्टर स्केलको एक र आइतबार दोलखा र सिन्धुपाल्चोकको सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर मध्याह्न १२:५४ बजे ६.९ रेक्टर स्केलको पराकम्प गएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले राससलाई जानकारी दिनुभयो ।

गोरखा भूकम्पपछि गएका पराकम्प हेर्दा क्रमिक रुपमा सङ्ख्या घट्दै गएको देखिन्छ । सुरुको १२ घन्टामा साना ठूला ३८ पराकम्प गएका थिए भने त्यसपछिको २४ घन्टामा ३८ पराकम्प गएका थिए । त्यस्तै पर्सिपल्ट २४ घन्टाको अवधिमा १३ पराकम्प र आज मध्याह्न १२ बजेसम्म सात वटा पराकम्प गएको केन्द्रले जनाएको छ ।

आज बिहान गोरखा केन्द्रबिन्दु बनाएर ४:११ बजे ४.४ रेक्टर स्केलको र ५ बजेर ५ मिनेट जाँदा रसुवा आसपास केन्द्रविन्दु भएर ४.९ रेक्टर स्केलको पराकम्प गएको थियो ।

भूकम्पका लागि जोखिमयुक्त मानिएको भू–क्षेत्र नेपाल प्रत्येक ८० देखि १०० वर्षको अन्तरालमा विनासकारी भूकम्प आउने गरेको देखिए पनि त्यसबारेमा खासै तयारी भएको पाइदैन । रासस

Previous articleभूकम्पमा मृत्यु हुनेको सङ्ख्या चार हजार २६६
Next articleनेपाली जनसम्पर्क समिति स्विजरल्याण्डको प्रेस वक्तब्य

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here