बडा दशैँ शुरु भएको अर्थात् नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरेर मनाइँदै छ ।
हरेक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् नवरात्रको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरी मनाइने गरिन्छ। घटस्थापनाको दिनदेखि नौ दिनसम्म घटस्थापना गरिएको (जमरा राखिएको) स्थानमा दुर्गा सप्तशती स्तोत्र पाठ समेत गरिने परम्परा छ ।
हिन्दू परम्परागत मान्यता अनुसार नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्ने गर्छन् ।
घटस्थापनादेखि नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजया दशमीको दिन टीकाको रूपमा ग्रहणा गरी टिकाको दिनदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म प्रसादको रूपमा मान्यजनबाट लगाउने प्रचलन छ । यसरी १५ दिनसम्म नेपालीले बडादशैं पर्व मनाउँछन् ।
नवरात्रका नौ दिन अन्तर्गत दशैंको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैटौं दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौं दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजा आराधना गर्ने गरिन्छ । यीनै नौवटा दुर्गा भवानीका रुपलाई नवदुर्गा पनि भनिन्छ ।
दशैँको नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्छ । यस वर्ष काठमाडौं उपत्यकाका शक्तिपीठमा विशेष रुपमा सजाइएको छ । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकाली लगायत शक्तिपीठमा दीपावली गरी झिलीमिली बनाइएको छ ।



