बुधबार बिहान भोटेकोशीमा आएको बाढीमा परी हालसम्म बेपत्ता १ सय ५७ जनाको शब प्राप्त भएको छ भने नुवाकोट र धादिङ लगायतका जिल्लाहरूमा गरी करिब २ खर्ब बराबरको क्षति पुर्याएको अनुमान गरिएको छ ।
बुधबार तिब्बतको लेन्दे हुँदै नेपालतर्फको रसुवागढी टिमुरे हुँदै भोटेकोशी नदीमा बिहान करिब ९ः०० बजेको समयमा आएको भीषण बाढीले जनधनको ठूलो र अपुरणीय नोक्सानी पुर्याएको छ ।
बाढीका कारण सबैभन्दा बढी क्षति उर्जा र पर्यटनमा परेको छ भने रसुवाको टिमुरेदेखि वेत्रावतिसम्मको करिब ४० कि.मी. सडक पूर्ण रूपमा बगाएको छ । त्यसैगरी बाढीले रसुवाको टिमुरेदेखि धादिङको गल्छीसम्मको दुई दर्जन भन्दा बढी पुलहरु बगाएको छ । सबारी साधन, पशुपञ्छि लगायत मानवीय जनधनको क्षतिको एकिन विवरण आउन बाँकी नै छ । बाढीले पर्यटक, तीर्थयात्री, उद्योगी व्यवसायी लगायत सर्वसाधारणमा ठूलो प्रभाव पारेको छ । बाढीले सञ्चालनमा रहेका र निर्माणाधिन गरी कूल ९०० मेघावाट भन्दा बढी क्षमताका जलविद्युत आयोजना बगाएको छ ।
बाढीका कारण ४०३ जना पर्यटन सम्पर्क विहीन भएका छन्, जसमा ३४१ विदेशी र ६२ जना नेपाली रहेको नेपाल पर्यटन बोर्डले जनाएको छ भने हालसम्म ९५ जनाको शव फेला परेको छ ।
बाढीमा परी बेपत्ता भएकाहरूमा सबैभन्दा बढी भारतीय पर्यटक रहेका छन् । कुल १ सय ३३ भारतीय पर्यटक बेपत्ता छन् । अमेरिकी ४७ जना बेपत्ता छन् । बेलायती ३३, अस्ट्रेलिया ३४, क्यानडा २४, मलेसिया १९, युक्रेन ७ र दक्षिण अफ्रिकाका ६ पर्यटक बेपत्ता छन् । त्यस्तै सिंगापुरका ६, न्यूजिल्यान्ड र जापान ५र५, जर्मनी ४, फ्रान्स ३ र स्पेनका २ पर्यटक सम्पर्क विहीन छन् ।
प्राप्त जानकारी अनुसार नेपालको सीमाना नजिकै तिब्बतमा बुधबार बिहान ८ः३७ बजे ४.४ रेक्टरस्केलको भूकम्प गएको र उक्त भूकम्प पश्चात् तीब्बती क्षेत्रमा भएको कुनै ठूलो हीमताल फुटेर बाढी आएको हुन सक्ने अनुमान लगाइएको छ ।
भोटेकोशीमा आएको बाढीका कारण ठूलो संख्यामा जन धनको क्षति हुन पुगेको छ । नेपाल र चीन जोड्ने सीमा नाका टिमुरे बजार पूर्ण रुपमा बगाएको छ भने चीनसँगको सडक सम्पर्क टुटेको छ । बाढीले रसुवाको टिमुरे, स्याफ्रुबेसी, मैलुङबेसी, बेत्रावती, नुवाकोटको भैँसे, तुप्चे, त्रिशुली बजार, ढुंगे बजार, देवीघाट लगायतका बस्ती बगाउनुका साथै बजार क्षेत्रमा अतुलनीय र इतिहास कै सबैभन्दा बढी क्षति पुर्याएको छ भने धादिङमा फुर्केखोला स्थित धादिङबेसी र पृथ्वी राजमार्ग जोड्ने पुल बगाएको छ । त्यसैगरी जरेखेत, घाटवेशी, गल्छी र चरौँदीका पक्की पुल समेत बगाएको छ ।
बाढीबाट त्यस क्षेत्रका ६ वटा हाइड्रोपावर बगाएको छ भने केहीमा ठूलो क्षति पुगेको छ । तीब्बतको कैलाश मानसरोवर यात्रामा निस्किएका तीर्थयात्रीहरु समेत बीच बाटोमै अलपत्र हुन पुगेका छन् । गोसाइँकुण्ड यात्रामा निस्किएका कतिपय तीर्थयात्रीहरु सम्पर्क बिहिन भएका छन् । बाढी प्रभावित क्षेत्रमा नेपाली सेना, सशश्त्र प्रहरी बल र नेपाल प्रहरीको टोली उद्धारमा खटिइसकेको छ । उक्त क्षेत्रबाट सुरक्षाकर्मीले केही मानिसहरुको उद्धार समेत गरिसकेको भए तापनि अझै सयौँ मानिसहरु हराईरहेकोले उद्धार कार्य जारी रहेको छ ।
भोटेकोशी बाढीबाट ठूलो संख्यामा जनधनको क्षति हुनुका साथै बाढीका कारण अति प्रभावित रसुवा जिल्ला तथा नुवाकोट, धादिङ्ग, चितवन, गोरखा, तनुहुँ जिल्ला समेतमा बाढीले अत्यन्तै ठूलो क्षति पुर्याएको छ ।







