बागमती प्रदेश सरकारमा रहेर सत्ता साझेदारी गरिरहेको दल नेकपा एमालेका मन्त्रीहरुले प्रदेश सरकारबाट सामूहिक रूपमा राजीनामा दिएका छन् । बागमती प्रदेश सरकारका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ समक्ष एमाले मन्त्रीहरुले सामूहिक राजनीनामा दिएका हुन् ।
नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलियाले मुख्यमन्त्री बानियाँलाई सम्बोधन गर्दै पठाएको राजीनामा पत्रमा नेपालको संविधानको धारा १६८ को उपधारा ९२० बमोजिम एमालेको निर्णय तथा वर्तमान अवस्थामा सरकारमा सहभागी सबै मन्त्रीले आजकै मितिदेखि लागू हुने गरी संयुक्त रूपमा राजीनामा दिएको उल्लेख गरिएको छ । साथै राजीनमा पत्रमा उक्त सामूहिक राजीनामा स्वीकृत गरी आवश्यक संवैधानिक तथा कानूनी प्रक्रिया अगाडि बढाउन समेत आग्रह गरिएको छ । त्यसैगरी उनले एमालेको तर्फबाट बागमती प्रदेश सरकारलाई दिएको समर्थन समेत फिर्ता लिएको जनाएका छन् ।
एमालेका तर्फबाट प्रतिनिधित्व गरेका र आजै मन्त्रीपदबाट राजीनामा दिएका मन्त्रीहरुमा बागमती प्रदेश सरकार कृषि, पशुपन्छी, वन तथा वातावरण मन्त्री मधुसुदन पौडेल, भौतिक पूर्वाधार विकास मन्त्री डा। दिनेशचन्द्र देवकोटा, उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयमा यातायात विषय हेर्ने मन्त्री जयराम थापा, कृषि मन्त्रालयमा वन तथा वातावरण विषय हेर्ने मन्त्री भरतबहादुर केसी, स्वास्थ्य तथा सामाजिक विकास मन्त्रालयमा स्वास्थ्य विषय हेर्ने मन्त्री किरण थापा तथा उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री बिन्दु श्रेष्ठ रहेका छन् ।
बागमती प्रदेश सरकारमा बि.सं २०८१ श्रावण महिनादेखि नेपाली कांग्रेस र एमालेको संयुक्त सरकार रहेको थियो । झण्डै दुई वर्ष सरकार सञ्चालन गरेपछि एमालेले समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री बानियाँ अल्पमतमा परेका छन् । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्री बानियाँले अबको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने व्यवस्था छ ।



