काठमाडाैँ ।
रसुवा जिल्लाका पालिकाहरुले पर्यटन प्रवर्धनलाई आफ्नो बजेटको प्राथमिकता राखेका छन् ।
देशको आर्थिक मेरुदण्डको रुपमा मानिएको नेपालको पर्यटन उद्योगलाई प्राथमिकतामा राखेर स्थानीय पालिकाहरुले बजेट विनियोजन गर्न थालेका हुन् । सोही अनुसार पाँच वटा पालिकाहरु रहेको रसुवा जिल्लाका पाँच वटै पालिकाहरुले यस आर्थिक वर्षको बजेटमा पर्यटन विकास तथा प्रवर्धनका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्न कूल २ करोड ५१ लाख रुपैयाँ बजेट विनियोजन गरेका छन् ।
आ.व. २०८३/८४ का लागि संघीय सरकार र प्रदेश सरकारहरुद्वारा विनियोजित बजेटमा पर्यटन प्रवर्धनलाई त्यति धेरै महत्व दिएको नदेखिको देखिए तापनि स्थानीय सरकारहरुले भने पर्यटन प्रवर्धनकालाई प्राथमिकताका साथ हेरको पाइएको छ ।
प्राकृतिक, धार्मिक तथा साहसिक पर्यटनको दृष्टिले नेपालको महत्वपूर्ण गन्तव्यको रुपमा रहेको रसुवा जिल्लाको पर्यटन प्रवर्धन गर्न सके यो जिल्लाले मुहार फेर्ने आँकलन गरिएको छ । सोही अनुसार जिल्लामा रहेको लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाइँकुण्ड, लाङटाङ उपत्यका, तामाङ सांस्कृतिक सम्पदा तथा चीनसँग जोडिएको रसुवागढी नाका जस्ता पर्यटकीय सम्भावनालाई थप प्रवर्द्धन गर्न स्थानीय सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गर्नु सकारात्मक कदम भएको स्थानीय पर्यटन व्यवसायीहरुको भनाई रहेको छ ।
रसुवा जिल्लाका स्थानीय निकायहरुले आ.व. २०८३/८४ का लागि विनियोजन गरेका बजेट मध्ये गोसाइँकुण्ड गाउँपालिकाले सबैभन्दा बढी ९० लाख रुपैयाँ छुट्याएको छ भने आमाछोदिङ्मो गाउँपालिकाले ८५ लाख रुपैयाँ, उत्तरगया गाउँपालिकाले ५१ लाख रुपैयाँ, नौकुण्ड गाउँपालिकाले २० लाख रुपैयाँ तथा कालिका गाउँपालिकाले ५ लाख रुपैयाँ पर्यटन प्रवर्धनका कार्यक्रम सञ्चालनका लागि विनियोजन गरेका छन्।
होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय सदस्य एवं स्थानीय पर्यटन व्यवसायी रामशरण गजुरेल (निशान) का अनुसार उक्त बजेट नयाँ पर्यटकीय गन्तव्यहरूको पहिचान तथा प्रवर्द्धन, पर्यटकीय स्थलमा सूचना तथा संकेत बोर्ड स्थापना, सरसफाइ तथा फोहोर व्यवस्थापन, होटल तथा पर्यटन व्यवसायीहरूको क्षमता अभिवृद्धि, पर्यटनसँग सम्बन्धित जनशक्ति विकास, स्थानीय संस्कृति र सम्पदाको संरक्षण तथा जिल्लाको समग्र पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम सञ्चालनमा खर्च गरिनेछ।
स्थानीय तहको यस प्रकारको पहललाई जिल्लाका पर्यटन व्यवसायीहरूले अत्यन्त सकारात्मक भन्दै पर्यटन पूर्वाधार विकास, सेवा गुणस्तर सुधार तथा पर्यटक आकर्षित गर्न महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेका छन्। उनीहरूका अनुसार रसुवाको अर्थतन्त्रमा पर्यटन क्षेत्रको ठूलो योगदान रहेकाले यस क्षेत्रमा गरिएको लगानीले स्थानीय रोजगारी सिर्जना, आयआर्जन वृद्धि तथा ग्रामीण अर्थतन्त्रलाई चलायमान बनाउन समेत सहयोग पुग्ने अपेक्षा गरिएको व्यवसायीहरुले बताएका छन् ।
होटल तथा पर्यटन व्यवसायी संघ नेपाल बागमती प्रदेशले रसुवा जिल्लाका पाँच वटै स्थानीय सरकारको तर्फबाट आ.व. २०८३/८४ को बजेटमा पर्यटन प्रवर्धनकालाई प्राथमिकताका साथ बजेट विनियोजन गरिएकोमा उक्त निर्णयको स्वागत गर्दै विनियोजित बजेट प्रभावकारी रूपमा कार्यान्वयन हुनुपर्नेमा जोड दिएको छ। प्रदेश संघले पर्यटन प्रवर्द्धनका कार्यक्रम प्रस्तुत योजना मुताविक पारदर्शी र परिणाममुखी रूपमा सञ्चालन गर्न स्थानीय तहसँग मातहतका संघहरु मार्फत समन्वय गर्दै काम गर्न आफूहरू पनि प्रतिबद्ध रहेको जनाएको छ।
साथै प्रदेश संघले बागमती प्रदेश सरकारलाई पनि पर्यटकीय गन्तव्यका प्रचुर सम्भावना भएका प्रदेशका जिल्लाहरुका पर्यटन क्षेत्रको सम्भावना र आवश्यकतालाई ध्यानमा राखी थप बजेट, पूर्वाधार विकास तथा दीर्घकालीन पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ।


