रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंले चन्द्रागिरी नगरपालिकाअन्तर्गतका सार्वजनिक विद्यालयका विद्यार्थीहरूको आँखा स्वास्थ्य सुधार तथा दृष्टि समस्याको पहिचान गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको विद्यालयस्तरीय आँखा परीक्षण कार्यक्रमअन्तर्गत पहिलो चरणको विस्तृत आँखा शिविर सफलतापूर्वक सम्पन्न गरेको छ।

केही महिनाअघि चन्द्रागिरी नगरपालिकाभित्र रहेका विभिन्न सार्वजनिक विद्यालयका करिब १५ हजार विद्यार्थीहरूमा प्रारम्भिक आँखा स्क्रिनिङ कार्यक्रम सञ्चालन गरिएको थियो। उक्त स्क्रिनिङका क्रममा करिब १,५०० विद्यार्थीमा विभिन्न प्रकारका आँखा सम्बन्धी समस्या देखिएको थियो। तीमध्ये पहिलो चरणमा करिब ८०० विद्यार्थीहरूको विशेषज्ञ चिकित्सकद्वारा विस्तृत आँखा परीक्षण सम्पन्न गरिएको हो।

थानकोटस्थित मङ्गलोदय सेकेन्डरी स्कूलमा आयोजित उक्त शिविरमा विद्यार्थीहरूको दृष्टि परीक्षण, आँखा सम्बन्धी रोगको पहिचान तथा आवश्यक परामर्श प्रदान गरिएको थियो। कार्यक्रमप्रति विद्यार्थी, अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो।

कार्यक्रममा रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंका अध्यक्ष प्रेम कुमार वली, कार्यक्रम संयोजक तथा पास्ट प्रेसिडेन्ट लीलानाथ शर्मा, पास्ट प्रेसिडेन्ट डा. पार्थीश्वर प्रसाद तिमिल्सिना, पास्ट प्रेसिडेन्ट इन्दिरा पराजुली, भाइस प्रेसिडेन्ट दीप्ति सिंह, स्पाउस गजबकुमारी तिमिल्सिना, रोटरियन विष्णु पराजुली (रोटरी क्लब अफ गोदावरी), रोटरियन हरि काफ्ले (रोटरी क्लब अफ त्रिपुरेश्वर) लगायत मङ्गलोदय सेकेन्डरी स्कूलका प्रधानाध्यापकको उपस्थिति रहेको थियो।

त्यसैगरी, बिपी कोइराला लायन्स सेन्टरबाट प्रकाश पौडेलको नेतृत्वमा विशेषज्ञ चिकित्सक टोली खटिई विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो।

कार्यक्रम संयोजक तथा पास्ट प्रेसिडेन्ट लीलानाथ शर्माले दृष्टि समस्या भएका तथा चस्मा आवश्यक विद्यार्थीहरूलाई रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंको तर्फबाट निःशुल्क चस्मा वितरण गरिने जानकारी दिनुभयो। उहाँले बालबालिकाको शिक्षा र स्वास्थ्यलाई जोड्दै समयमै दृष्टि परीक्षण गरिनु अत्यन्त आवश्यक रहेको बताउनुभयो।

यस महत्वपूर्ण सामाजिक तथा स्वास्थ्यसम्बन्धी कार्यक्रमलाई चन्द्रागिरी नगरपालिका, जीएमपीटी फाउन्डेसन, सहज फाउन्डेसन, कालिभक्त फाउन्डेसन, बिपी कोइराला लायन्स सेन्टर तथा चन्द्रागिरी हिल्सको साथ, सहयोग तथा सहकार्य प्राप्त भएको आयोजकले जनाएको छ।

रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंले आगामी दिनहरूमा पनि विद्यालयस्तरमा स्वास्थ्य, शिक्षा तथा बालकल्याणसँग सम्बन्धित यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।

Previous articleएमआरपी समस्या तत्काल समाधान गरियोस्ः उद्योग व्यापार महासंघ
Next articleविद्यालयस्तरीय सडक सुरक्षा सचेतना कार्यक्रम सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here