काठमाडौँ जिल्ला अदालतले पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष के.पी. शर्मा ओलीको आवश्यक व्यवस्था गरी प्रभावकारी उपचार गर्न आदेश दिएको छ ।
शनिबार बिहान भक्तपुरको गुण्डु स्थित निवासबाट पक्राउ परेका पूवं प्रधानमन्त्री ओलीलाई प्रतिवादी बनाई आवश्यक अनुसन्धानका लागि म्याद थप गर्न भनि आइतबार जिल्ला आदलत काठमाडौँमा पेश गरिएको थियो । बिरामी भएर शिक्षण अस्पतालमा उपचार गराइरहेका ओली भने अदालतमा भर्चुअल रुपमा उपस्थित भएका थिए ।
जिल्ला अदालत काठमाडौँका न्यायाधिश आनन्द प्रसाद श्रेष्ठको इजलासले प्रतिवादी केपी शर्मा ओली अस्वस्थ भई अस्पतालमा उपचार गराईरहेको भन्ने समेतलाई ध्यानमा राखी उनलाई ५ दिनको म्याद थपको अनुमति दिनुका साथै प्रभावकारी आवश्यक उपचारको समेत व्यवस्था गर्न आदेश जारी गरेको हो ।
शनिबार बिहानै पक्राउ परेका ओली पक्राउ परे लगत्तै अस्पताल भर्ना भएका थिए ।
गत भाद्र २३ र २४ मा भएको जेन जी विद्रोहका बेला प्रधानमन्त्री रेहका ओली र तत्कालिन गृह मन्त्री रमेश लेखकलाई फौजदारी मुद्दामा कारबाही अगाडि बढाउन गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले सिफारिस गरेको थियो ।
त्यसैगरी तत्कालिन गृहमन्त्री रमेश लेखकलाई पनि पक्राउ गरी आइतबार नै अदालतमा उपस्थित गराइएको थियो । लेखकलाई पनि अदालतले ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।
स्मरण रहोस्, उक्त जेनजी आन्दोलनका क्रममा २३ गते १९ जनाको ज्यान गएको थियो भने २३ र २४ गरी दुई दिनमा ७६ जनाले ज्यान गुमाएका थिए ।




