बारा ।

काेल्हवी नगरपालिका वडा नं. ५ काकडीमा सञ्चालित स्वरोजगार शिक्षा कार्यक्रमअन्तर्गत २५ जना महिलाले साक्षरता तथा व्यावसायिक अवसर पाएका छन् ।

मुसहर समुदाय तथा अन्य अति विपन्न वर्गका महिलाहरूलाई लक्षित गरी १२ महिनासम्म सञ्चालन गरिएको साक्षरता तथा सूक्ष्म उद्यम (माइक्रो–बिजनेस) कार्यक्रमले महिलाहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याएको बताइएको छ । कार्यक्रममार्फत सहभागी महिलाहरूले पढ्नलेख्न मात्र नभई साना व्यवसाय सञ्चालन गर्न आवश्यक सीपसमेत हासिल गरेका छन् ।
सहज फाउन्डेसन र कोहलबी नगरपालिकाको सहकार्यमा सञ्चालित कार्यक्रमको पहिलो चरण समापन समारोहमा कोहलबी नगरपालिकाका प्रमुख रामप्रसाद चौधरीले सीमान्तकृत समुदायका महिलाहरूलाई सशक्त बनाउने, उनीहरूलाई स्वरोजगारतर्फ उन्मुख गराउने तथा बालबालिकाका लागि सञ्चालित सामुदायिक ट्युसन कार्यक्रम सराहनीय भएको बताए । सहज फाउन्डेसनका अध्यक्ष डा. हरिकृष्ण बाँस्कोटाले सहभागी महिलाहरूको उपलब्धिप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी दिनमा यस कार्यक्रमलाई नगरपालिकाका अन्य वडाहरूमा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरे । सहज फाउन्डेसन एक गैरनाफामुखी, बालकेन्द्रित संस्था हो, जसले समुदायमा आधारित एकीकृत विकास कार्यक्रममार्फत आधारभूत स्वास्थ्य, शिक्षा, जीविकोपार्जन तथा ज्ञान अभिवृद्धिमा काम गर्दै आएको छ । संस्थाले बालबालिका, महिला र समुदायिक स्वास्थ्य, शिक्षा, आत्मनिर्भर र सम्मानजनक जीवनतर्फको लक्ष्यमा केन्द्रित भएर समुदायमा दीगो विकासका अवसरहरू सिर्जना गर्दै आएको छ । कार्यक्रमले सीमान्तकृत समुदायका महिलाहरूलाई साक्षरता मात्र होइन, आत्मविश्वास र आर्थिक आत्मनिर्भरतातर्फ अग्रसर गराउँदै स्थानीय विकासमा महत्वपूर्ण योगदान पु-याउने विश्वास लिइएको छ ।

Previous articleएनआरएनए नेतृत्वद्वारा परराष्ट्र मन्त्रालयसँग शिष्टाचार भेट
Next articleबित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here