विमानमा प्राविधिक समस्या देखिएपछि धनगढीबाट काठमाडौँका लागि उडेको विमान भैरहवा विमानस्थलमा आकस्मिक अवतरण गराइएको छ ।

उडान नं। २२२ को श्री एयरलान्सको विमान बिहान १० बजे धनगढीबाट काठमाडौँका लागि उडेको केही बेर मै विमानमा हाइड्रोलिक फेल भएका कारण भैरहवास्थित गौतमबुद्ध विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो ।
अवतरण पश्चात् हाइड्रोलिक फेल भएको विमान गुड्न नसकेका कारण विमान करिब पौने घण्टा धावनमार्ग मै रहँदा उक्त विमानस्थलबाट हुने अन्य उडाहरू समेत रोकिएका थिए ।
भैरहवामा आकस्मिक अवतरण गराइएको श्री एयरलाइन्सको विमानका चालक दलका सदस्य र यात्रा गरिरहेका ८२ यात्रुहरू सकुशल रहेको विमानस्थल अधिकारीले जनाएका छन् । यात्रुहरूलाइ अर्को विमानबाट काठमाडौँ लाने तयारी भइरहेको पनि विमानस्थल श्रोतले जनाएको छ ।
ल्याण्डिङ गेयर खुलेपछि विमानलाइ धावनमार्गबाट पार्किङ एरियामा सारिसकिएकोले भैरहवा विमानस्थल अहिले सुचारू भइसकेको छ ।



