रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंले अनामनगर प्रहरी वृत्त कार्यालयलाई विभिन्न राहत सामग्री हस्तान्तरण गरेको छ। जेएनजी आन्दोलनका क्रममा ध्वस्त भएको प्रहरी कार्यालयमा हाल सुरक्षाकर्मीहरूलाई खानबस्न समेत कठिनाइ भएको अवस्थामा क्लबले आवश्यक न्युनतम सामग्री उपलब्ध गराएको हो।
वितरण गरिएको राहत सामाग्रीमा दश बोरा चामल, एक बोरा दाल, २० लिटर खाने तेल, १० केजी नुन, २०/२० वटा थाल, कचौरा र चम्चा, दुईवटा ग्याँस सिलिन्डर, एक थान डेक्ची, दुई वटा भट्टी चुलो, एक बोरा आलु , बाल्टी लगायतका सामग्रीहरू प्रदान गरिएको थियो। ती सामग्रीहरू प्रहरी कार्यालय रहेको परिसरमा लगेर हस्तान्तरण गरिएको हो ।
कार्यक्रममा जीएमपी तिमिल्सिना फाउन्डेसन र कालीभक्त फाउन्डेसनको पनि सहकार्य रहेको थियो। सो अवसरमा क्लबका अध्यक्ष, सचिव, पूर्वअध्यक्ष लगायत पदाधिकारीहरू र स्थानीइ वडा सदश्यको समेत उपस्थिति रहेको थियो।
कार्यक्रममा क्लबका अध्यक्ष प्रेम वलीले रोटरी सधैं आपत विपतमा साथ दिने संस्था भएको उल्लेख गर्दै, रोटरियनहरू समाजसेवा र मानव सेवामा अग्रणी रहेको बताए। साथै, उनले पोलियो उन्मूलनमा रोटरीले विश्वव्यापी रूपमा प्रथम स्थानमा योगदान पुर्याएको समेत स्मरण गराए।
त्यसैगरी राहत हस्तान्तरण कार्यक्रममा प्रहरी निरक्षक सुशील कार्कीले रोटरी क्लब अफ डिल्लिबजार लगायत सबै सहयोगीलाई आभार प्रकट गरेका थिए ।




