पाँच दिनदेखि अनशनमा बस्नुभएका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीको स्वास्थ्यस्थिति कमजोर बन्दै गएको छ ।
डा केसीको उपचारमा संलग्न चिकित्सकका अनुसार उहाँको पिसाबमा सङ्क्रमण देखिएको, रक्तचाप न्यून भएको तथा पिसाबमा किटोनको मात्रा बढेको भेटिएको छ । उहाँले मुखबाट औषधि खान मान्नुभएको छैन ।
चिकित्सा शिक्षामा सुधारको माग गर्दै उहाँले सुरु गर्नुभएको आमरण अनशनप्रति नेकपा–माओवादीले समर्थन जनाएको छ । माओवादी प्रवक्ता पम्फा भुसालले बिहिबार जारी गर्नुभएको विज्ञप्तिमा डा केसीसँग यसअघि सरकारले गरेको सम्झौता विपरीतका निर्णय तत्काल खारेज गरी सम्झौता लागू गर्न माग गरिएको छ ।
स्वास्थ्य–शिक्षामा विद्यमान समस्याबारे डा केसीले नेतृत्व गरेको आन्दोलनको दबाबमा सरकारले गरेका सम्झौता कार्यान्वयन नगरी उल्टो सम्झौता विपरीत निर्णय गरेर सरकारले डा केसीलाई पुनः आन्दोलनमा उत्रन बाध्य पारेको समेत विज्ञप्तिमा उल्लेख छ ।
यसैबीच राष्ट्रिय मानअधिकार आयोगले चिकित्सक प्रा डा गोविन्द केसीको आमरण अनशनलाई वार्ता र संवादको माध्यमबाट समाधान गर्न सरकारलाई ध्यानाकर्षण गराएको छ ।
दश सूत्रीय माग राखी अनशनमा बस्नुभएका त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालका चिकित्सक केसीको स्वास्थ्य अवस्था बुझ्न आज आयोगका सदस्य सुदीप पाठक नेतृत्वको एक टोली पुगेको थियो ।
आयोगले प्रा डा केसीको आमरण अनशनबाट उत्पन्न असहज परिस्थितिलाई वार्ता र संवादको माध्यमबाट हल गर्न र उहाँले उठाउनुभएको मागको समाधान गर्न आग्रह गरेको प्रवक्ता मोहना अन्सारीले जानकारी दिनुभयो ।
डा. के.सी.को आन्दोलनप्रति त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानका विद्यार्थी तथा अस्पतालका डाक्टरहरुले साथ दिंदैआएका छन् भने अन्य अस्पतालका चिकित्सकहरुले पनि साथ दिने बताएका छन् ।
-नेपाल जापान डट कम
![lrlsT;f lzIffsf] u'0f:t/ sfod /fVgsf nflu ljleGg dfu /fVb} oxL r}t * ut]b]lv lqlj lzIf0f c:ktfn, dxf/fhuGh leq cfd/0f cg;gdf a:g'ePsf 8f uf]ljGb s];L . pxfFn] o;cl3 rf/ k6s o;}u/L ;f]xL c:ktfndf cg;g al;;Sg'ePsf] lyof] . tl:a/ M /Tg >]i7, /f;; .](https://i0.wp.com/www.nepalswiss.com/wp-content/uploads/2015/03/Dr.-K-C.jpg?resize=800%2C533&ssl=1)


