काठमाडौँ, ९ चैत । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले संविधानका विवादित विषयमा प्रमुख राजनीतिक दलबीच सहमति हुनैपर्ने दोहो¥याउनुभएको छ ।
छिमेकी मित्रराष्ट्र चीनको भ्रमणका लागि आज त्यसतर्फ जाने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले प्रमुख विवादित विषयमा धेरै समस्या नभए पनि सहमति हुन नसक्नुको पछाडि कुन तत्वले काम गरेको छ, त्यसको खोजबिन गर्नुपर्नेमा जोड दिनुभयो ।
नेपालको राजनीतिक गाँठो नेपालीले नै फुकाउनुपर्नेमा जोड दिँदै उहाँले छिमेकी मित्रराष्ट्रको आवश्यक सहयोग र सल्लाहको जरुरत रहेको धारणा राख्नुभयो ।
एमाओवादी अध्यक्ष दाहालले भन्नुभयो, “प्रमुख राजनीतिक दलका बीच पछिल्ला समयमा भएका संवाद सकारात्मक नै भए पनि सहमति हुन सकेको छैन । आशा छ सबै दल सहमतिमा आउँछन् ।”
दलहरुबीच न्याय प्रणाली, निर्वाचन प्रणाली, शासकीय स्वरुपमा सहमति भइसकेको भए पनि राज्य पुनःसंरचनाको विषयमा सहमति हुन नसक्दा राजनीतिक गत्यावरोध बढेको भन्दै उहाँले नेपाली काँग्रेस र नेकपा (एमाले) साँच्चै सहमतिका लागि तयार हुने हो भने सहमति टाढा नभएको बताउनुभयो ।
अध्यक्ष दाहालले आफूले पछिल्लो दिनमा राष्ट्रपति डा रामवरण यादव र प्रमुख दलका नेतासँग निरन्तर संवाद गरिरहेको जानकारी दिँदै सबै दल सहमतिमा आउने र नेपाली जनताले जनअपेक्षित संविधान पाउने विश्वास व्यक्त गर्नुभयो ।
चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा आफू चीन जान लागेको उल्लेख गर्दै भ्रमणका क्रममा दुई पार्टी र दुई मुलुकको सम्बन्ध विस्तारमा छलफल हुने बताउनुभयो ।
पार्टीका वरिष्ठ नेता डा बाबुराम भट्टराई भारत भ्रमणबाटै फर्केको केही समयपछि नै चीन जानुको पछाडि केही कारण त छैन भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष दाहालले भन्नुभयो, “संयोग मिलेको मात्रै हो, अरु खास केही कारण छैन ।”
चीन भ्रमणका क्रममा नेपालको शान्ति प्रक्रिया र संविधान लेखनको विषयमा कुराकानी हुने र चिनियाँ नेताको धारणा बुझ्ने काम हुने उहाँको भनाइ थियो । “नेपालको यथार्थ स्थितिका बारेमा जानकारी गराउने र उहाँहरुको सकारात्मक सुझावलाई ग्रहण गर्ने हुनसक्छ”, अध्यक्ष दाहालले भन्नुभयो ।
उहाँले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गर्ने कार्यक्रम नरहेको भए पनि चिनियाँ कम्युनिस्ट पार्टीका उच्चस्तरीय नेतासँग भेटवार्ता हुने जानकारी दिनुभयो ।
अध्यक्ष दाहालसँगै महासचिव कृष्णबहादुर महरा र अध्यक्ष दाहालकी श्रीमती सीता दाहाल पनि चीन जानुभएको छ । अध्यक्ष दाहाल यही चैत १४ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस

Previous articleचीन, जापान तथा दक्षिण कोरियाली नेताले तीन वर्षमा पहिलोपटक वार्ता गरे
Next articleमौसम परिवर्तन चीनलाई ‘ठूलो खतरा’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here