बेर्न। एनआरएनए स्विट्जरल्याण्डको अध्यक्षमा कुल प्रसाद सिवाकोटी (कृष्ण) निर्विरोध निर्वाचित भएका छन् । शनिवार राजधानी बेर्नमा सम्पन्न संघको आठौँ राष्ट्रिय महाधिवेशनबाट सिवाकोटीको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको हो। 

संघको उपाध्यक्षद्वय राकेश प्रजापति र जीवन भट्टराई, महासचिवमा याम काउचा मगर, सचिव सुनिता तामाङ र कोषाध्यक्षमा विनिता सुनार निर्विरोध निर्वाचित भएका छन्।  यस्तै प्रवक्तामा रेशम खत्री, महिला संयोजक चम्पा ज्ञवाली रुकस्टुल, युवा संयोजक आशिष परियार र सदस्यमा सारा पुन चयन भएका छन्। कार्यसमितिका लागि बाँकी सदस्यहरु पछि मनोनित गरिने भएको छ।

 

यस्तै अन्तर्राष्ट्रिय समन्वय परिषदको सदस्यमा (आईसीसी) शुभ एल्मर लामा निर्विरोध बनेकी छिन्। विगत चार दशकदेखि स्विट्जरल्याण्डमा बस्दै आएकी लामा निर्वतमान अध्यक्ष समेत हुन्। उनले सन् २०१५ देखि २०१९ सम्म दुई कार्यकालसम्म संघको महिला संयोजकमा रही काम गरेकी थिईन्। २०१९-२०२१ मा उपाध्यक्ष हुँदै लामाले २०२१- २०२३ कार्यकालका नेतृत्व सम्हालेकी थिईन्। 

अधिवेशनको उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै स्विट्जरल्याण्डका लागि नेपाली कार्यवाहक राजदूत उत्तम कुमार शाहीले नयाँ कार्यसमितिलाई शुभकामना ब्यक्त गरे। उनले एनआरएनले गर्दै आएको कामको प्रंशसा गर्दै  नेपाली राजदूतावाससँग हातेमालो र सहकार्यलाई निरन्तरता दिन आग्रह गरे। 

कार्यक्रममा विशेष अतिथिको रुपमा बोल्दै एनआरएनए युरोप संयोजक चिन्तामणी सापकोटा, निर्वाचन पर्यवेक्षक आईसीसी सदस्य सिमा गौतमले नयाँ कार्यसमितिलाई शुभकामाना दिए।

 

अधिवेशनमा महिला फोरमको गतिविधिबारे महिला संयोजक चम्पा ज्ञावली,युवाका गतिबिधिबारे सचिव जिबन भट्टराई र आर्थिक प्रतिवेदन कोषाध्यक्ष राकेश चन्द्र प्रजापतिले प्रस्तुत गरेका थिए। संघको आठौँ राष्ट्रिय अधिवेशनका लागि बिष्णु थापाको संयोजकत्वमा गुणराज शर्मा र बिदुर संगौला सदस्य रहने गरी तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो। 

नयाँ कार्यसमितिले पद तथा गोपनियताको सपथ ग्रहण समेत गरेका छन्। कार्यक्रममा गायक अनिश श्रेष्ठ र स्थानिय कलाकार कुसुम लामाले प्रस्तुति राखेका थिए।

Previous articleस्विट्जरल्याण्डमा एनआरएनको चाम् झनै बढेको छ : अध्यक्ष लामा
Next articleबासेलमा हुने भलिबल प्रतियोगिता कार्यक्रम संगीतमय हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here