जुरीख। गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डको आयोजनामा गत ८ मे आइतवारको दिन स्विट्जरल्याण्डको मुल्यहोर्नमा डा. महावीर पुन संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

युरोप भ्रमणमा रहेका पुन संग राष्ट्रिय आविष्कार केन्द्रको आविष्कार, अनुसन्धान, काम र केन्द्रको अवधारणाबारे जानकारी र राष्ट्रिय आविष्कार केन्द्रको लागि आर्थिक सहयोग जुटाउन गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले अन्तरक्रिया कार्यक्रम आयोजना गरेको हो।

बिशेष अथितिको रुपमा स्विट्जरल्याण्डका लागि नेपाली राजदूत मणि प्रशाद भट्टराईको उपस्थिति रहेको उक्त कार्यक्रममा डा. पुनले राष्ट्रिय आविष्कार केन्द्रको बारे, केन्द्रले गरेका कामहरु र केन्द्रको भविष्यका योजनाहरू बारे बिस्तृत विवरण सहित जानकारी गराएका थिए।

गैर आवासीय नेपाली संघ स्विट्जरल्याण्डले राष्ट्रिय आविष्कार केन्द्रको लागि जम्मा गरेको सहयोग रकम ४००० स्वीस फ्रान्क संघका अध्यक्ष शुभ एल्मर लामाले उक्त अन्तरक्रिया कार्यक्रममा डा. पुन लाई हस्तान्तरण गर्दै राष्ट्रिय आविष्कार केन्द्रको लागि सहयोग गर्नु हुने सम्पूर्ण महानुभावहरू लाई धन्यबाद व्यक्त गरेकी थिइन।

डा. महावीर पुन

वायरलेस प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गर्ने लक्ष्य बोकेर नेपाल वायरलेस सञ्जाल परियोजनामार्फत इन्टरनेट सञ्‍जाल विस्तार गर्न सफल व्यक्तित्व पुन म्याग्दी जिल्ला अन्नपूर्ण गाउँपालिका–८ नाङ्नीमा जन्मिएका हुन् ।

अमेरिकाको नेब्रास्का विश्वविद्यालयबाट विज्ञानमा स्नातकोत्तर गरेका पुनले विज्ञान, प्रविधि, सूचना एवं वायरलेस प्रविधिबाट ग्रामीण क्षेत्रमा इन्टरनेट सूचना प्रवाह गर्दै आएका छन्। राष्ट्रिय आविष्कार केन्द्रको स्थापना गरेका पुन ड्रोन, बायोमेडिकल, कृषि, शिक्षा लगायत क्षेत्रमा नयाँनयाँ कार्य गर्दै आएका छन्। उनले एसियाको नोबेल पुरस्कारले चिनिने ‘रोमन म्यागासेसे अवार्ड’ जस्ता महत्वपूर्ण सम्मानहरु पाएका छन् ।

Previous articleकोरोना हिरोले चिनिएका राम दास स्विट्जरल्याण्डको चुनावी मैदानमा
Next articleबेर्नमा ‘एभरेष्ट डे’ कार्यक्रम हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here