काठमाडौँ-प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचन संविधान सम्बद्ध रुपमा नै घोषणा गरिएकाले तोकिएकै समयमा हुने बताउनुभएको छ । प्रोग्रसिभ इञ्जिनीयरिङ एशोसिएशन नेपाल केन्द्रीय कमिटीद्वारा आयोजित बृहत इञ्जिनीयरिङ भेलामा उहाँले मुलुकलाई पुनः ताजा जनादेशको आवश्यकता परेकाले आगामी वैशाखमा निर्वाचन हुनेमा कुनै शंका नरहेको स्पष्ट पार्नुभयो ।    
    
उहाँले भन्नुभयो, “आगामी महाधिवेशनसम्म धैर्य गर्न नसकेर सरकारमा रहेकै साथीहरुले संसद्लाई अस्थिरताको थलो बनाएकाले संसद् विघटन गर्नुपरेको हो”, उहाँले भन्नुभयो, “आगामी निर्वाचनमा शानदार बहुमत ल्याउनका लागि जनतासामु यथार्थ धारणा लिएर जानुपर्छ ।”    
    
आफू सधैँ कानूनी पक्षमा रहेको प्रष्ट पादै प्रम ओलीले संसद् विघटनका सम्बन्धमा न्यायाधिशले गरेको फैसला नै मान्य हुने बताउँदै विदेशीको इशारामा देशलाई चल्न नदिनका लागि आफूले सधैँ खबरदारी गर्ने प्रतिबद्धता जनाउनुभयो । आगामी तीन महिनाभित्र अग्रपङ्तिमा रहेर काम गर्ने सबैलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने अठोट गर्दै उहँले जनताको जीवन नै आफूलाई सबैभन्दा प्यारो लाग्ने बताउनुभयो ।    
    
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले राष्ट्र र संविधान रक्षाका लागि सरकार सदैव क्रियाशिल रहेको धारणा राख्नुभयो । उहाँले आफ्ना केही साथी पदका लागि सडकमा आन्दोलनसम्म गर्न पुगेको भन्दै त्यस्तो आन्दोलनले जनतालाई झुकाउन नसक्ने बताउनुभयो ।    
    
प्रधानमन्त्रीका परराष्ट मामिला सल्लाहकार डा राजन भट्टराईले इञ्जिनीयरको काँधमा देश बनाउने ठूलो जिम्मेवारी रहेकाले इमान्दारिपूर्वक काम गर्न आग्रह गर्नुभयो । आयोजक संस्थाका अध्यक्ष शम्भुबहादुर श्रेष्ठले निर्वाचनको मिति तय भइसकेकाले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भन्न नमिल्नेमा जोड दिनुभयो । देशलाई विकास र समृद्ध उन्मुख बनाउन इञ्जिनीयरको साथ सहयोग सरकारलाई सदैव रहने प्रतिबद्धता अध्यक्ष श्रेष्ठले गर्नुभयो ।    रासस 

Previous articleपार्टीको मूलधारमा फर्कन नेकपाको अर्काे समूहलाई ओलिकाे आग्रह
Next articleप्रवासी नेपाली एकता मञ्च स्विट्जरल्याण्डको प्रेस-विज्ञप्ति

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here