लण्डन – कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र  पोर्चुगलमा २ जनाको  निधन भएको हो ।  

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसंगै विदेशमा कोरोना भाइरसबाट निधन  हुनेको कुल संख्या ( २० देशका ) ३ सय १५ पुगेको  छ ।  

संघको स्वास्थ्य समितिका संयोजक सन्जिव सापकोटाका अनुसार  शनिवार साँझसम्म विभिन्न  ५० देशमा रहेका  ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ ती मध्ये  ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।  

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता  स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।  

यस्तै कोरोना भाइरसका कारण नेपालमा १ हजार ८ सय ७० जनाको निधन भएको छ। नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या २ लाख ६१ हजार ४ सय ३८ छ भने  २ लाख ५३ हजार ८ सय ५७ जना अर्थात ९७.१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।  

अप्रिलको अन्त्यसम्म नेपालमा पनि कोरोना विरुद्धको खोप आउन सक्ने  

हाल विश्वका केही मुलुकहरुले फाइजर एण्ड  बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा  अक्सफोर्ड विश्वविद्यालय र एष्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोना विरुद्धका खोपको आपतकालिन प्रयोगका लागि अनुमति  दिइसकेको अवस्था  छ ।विभिन्न  मुलुकमा तीब्र  रूपमा  खोप वितरण समेत जारी छ  । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिल महिनादेखि नेपालमा पनि  कोरोना भाइरस विरुद्धको खोप आउन सक्ने सम्भावना रहेको छ ।  

यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी  अपनाउन  जरुरी  रहेको भन्दै  समितिले  अझै ढुक्क  हुने अवस्था  भने नरहेको  जनाएको छ  बेलायत लगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रकारको (उत्परिवर्तित) भाइरस छिमेकी  मुलुक भारतमा पनि फैलिँदै गएकोले नेपालमा पनि उच्च  सावधानीको आवश्यकता समितिले  औंल्याएको छ।  

भारतसहित बेलायत, यूरोपेलि मुलुक, अमेरिका लगायत नयाँ  प्रकारको  भाइरस देखा परेका देशमा  बसोबास  गर्ने नेपालीहरुलाई  पनि सचेत  रहन समितिले  आग्रह  गरेको छ ।  

Previous articleनेपालमा कूल सङ्क्रमितको सङ्ख्या २ लाख ६१ हजार ८ सय ५९ पुग्यो
Next articleसोधखोज प्रालिको गण्डकी प्रदेश प्रमुखमा उद्यमी कुमार बराल

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here