पोखरा -स्वरसम्राट नारायण गोपालको ३० औं स्मृति दिवसको अवसरमा पोखराबाट विगत दुई दशकदेखि प्रसारित रेडियो अन्नपूर्ण ९३.४ मेगाहर्जले “नयापुस्तामा नारायणगोपाल” कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार रेडियोमै आयोजना गरिएको कार्यक्रममा पोखरामा संघर्षशिल कलाकार रामभक्त जोजिजु, इतु जोजिजु, विनोद बानियाँ, अजुदा थापा, कौशल्या गुरुङ,विक्रम बराल, प्रयत्न श्रेष्ठ, सन्तोष बस्याल, ममता गुरुङले नारायण गोपालका अजरअमर गीत प्रस्तुत गरे । सबैलाई तबलामा साथ संगीतकर्मी प्रविन्दर सिंहले दिएका थिए ।

कार्यक्रमका अवसरमा बोल्दै रेडियो अन्नपूर्णका अध्यक्ष विश्वशंकर पालिखेले कोरोना कहरका बेला नारायण गोपालको स्मृतिमा यसरी कार्यक्रम सम्पन्न गर्न पाउनु सुखद रहेको बताए । उनले नारायण गोपाल सँधै अमर रहने बताए । “नारायण गोपालका गीतलाई नसम्झने को होला र ? उनका गीत सुन्दा आफ्नै लागि गाएको हो भन्ने आभाष हुन्छ ।”, अध्यक्ष पालिखेले भने ।

कलाकार अझै व्यवसायीक बन्न नसकेको तर्क पालिखेको छ । कलाकारको संरक्षणमा राज्यस्तरबाटै पहल हुनुपर्ने भनाई उनको थियो । राष्ट्रिय नाचघरको प्रमुख भएका बेला आफूले नारायण गोपाललाई भेट्ने अवसर पाएको उनले स्मरण गरे । नारायण गोपाल सँधै सबैको मनमस्तिष्कमा रहने उनले बताए ।

 कार्यक्रममा बोल्दै गीतकार दिनेश अधिकारीले नारायण गोपाल गीत गायन कविता संग्रहको नाम भएको उल्लेख गरे । केटाकेटी स्वभावका गोपालले राम्रो गीत लेख्नेबित्तिकै आफूलाई पठाउन आग्रह गरेको स्मरण अधिकारीले गरे । नारायण गोपालले आफ्नो सिर्जनामा गाएको अन्तिम गीत बजारमा आउन नसक्दा दुख लागेको अधिकारीले बताए ।

 संस्कृतिकर्मी तिर्थ श्रेष्ठले नारायण गोपालले रचनाकारले भन्न खोजेको मर्म र भावना बुझेर गीत गाएको बताए । उनले भने, “गीतको मर्म नबुझदा समस्या आउने गर्दछ, गलाको माध्यमबाट समाजलाई मार्ग दर्शक गर्ने स्वर सम्राट नारायण गोपाल हाम्रो सामु भौतिक रुपमा नरहे पनि उनको कृति सधंै अम्मर रहने छन् । ”

लेखक प्रकाश सायमीले नारायण गोपाल संगीतको सच्चा साधक भएको उल्लेख गरे । उनले गला र कलाले निखारिएका नारायण गोपाललाई शब्द छनोट ज्ञान भएका कारणले नै सिर्जनाले अमर बनाएको बताए ।

नारायण गोपालले ४ मातृभाषा सहित एक सय ३७ गीतमा स्वर दिएरै नेपालको गायनको क्षेत्रमा चर्चा कमाएको सायमीको भनाई थियो । स्वर सम्राट नारायण गोपाललाई हामीले गुमाएको दिनलाई मात्र होइन जन्म दिनमा पनि स्मरण गर्नु पर्ने सायमी बताउँछन्् ।

संगीतकार सुनिल थापाले बाल्यकालमा नारायण गोपालकै गीतबाटै सुनेर आफुहरु आज यहाँ सम्म आएको बताए । उनले भने “नेपालको संगीतको क्षेत्रमा उहाँकै गीत सुनेर बाल्यकाल बिताएका धेरै कलाकार छन् । संगीत क्षेत्रको धरोहरका रुपमा नारायण गोपाललाई बुझ््छु । ” अहिले क्षणिक अवधिका लागि गीत गाउने हुटहुटी भएको बताउँदै नारायण गोपाल संगीतको सच्चा साधक भएको बताए ।

साहित्यकार कृष्णमोहन श्रेष्ठले नारायण गोपालको स्मृतिमा कार्यक्रमको आयोजना गर्दै रेडियो अन्नपूर्णले सह्रानिय काम गरेको उल्लेख गरे । समय सान्दर्भिक कार्यक्रमले रेडियो उदाहरणीय बनेको उनको बुझाई थियो ।

बाबु आशागोपाल र आमा रामदेवी गुरुवाचार्यको कोखबाट विक्रम सम्वत १९९६ असोज १८ गते काठमाण्डौंको किलागलमा जन्मिएका नारायण गोपालको निधन २०४७ साल मंसिर १९ गते भएको थियो । 

Previous articleघनश्याम लामिछानेको निर्देशनमा म्युजिक भिडियो सार्वजनिक
Next articleथप १ हजार २ सय ७२ जनामा कोरोना संक्रमण पुष्टि

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here