काठमाडौँ- नेपाली काङ्ग्रेसले आगामी मङ्सिर १४ गते सम्पन्न हुन गइरहेको उपनिर्वाचनका लागि पार्टीको तयारीका लागि ‘अनुगमन तथा निर्वाचन आयोग समन्वय समिति, उपनिर्वाचन–२०७६’ गठन गरेको छ ।

काङ्ग्रेसले पार्टीको विधानबमोजिम स्वतन्त्र, निष्पक्ष, धाँधलीरहित एवं भयरहित वातावरणमा सफलतापूर्वक निर्वाचन सम्पन्न गर्न आज सो समिति गठन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय सदस्य रमेश लेखक संयोजकत्वको समितिमा केन्द्रीय सदस्यहरु सीता गुरुङ, नेपाल प्रेस युनियनका वरिष्ठ उपाध्यक्ष दीपक आचार्य, केन्द्रीय निर्वाचन समिति सदस्य अधिवक्ता सीताराम केसी, अधिवक्ता तेज रावल सदस्य हुनुहुन्छ । समितिको सदस्य सचिवमा अधिवक्ता केशव रिजाल रहनुभएको पार्टी कार्यालयले जनाएको छ ।

समितिलाई निर्वाचन आयोगबाट जारी गरिएको आचारसंहिताको पालना तथा प्रभावकारी कार्यान्वयन भए नभएको अनुगमन गर्ने, उपनिर्वाचनमा सुरक्षा व्यवस्था पर्याप्त भए नभएको हेर्ने, उपनिर्वाचन हुने सबै जिल्लामा पार्टीको स्थानीय तहमा अनुगमन तथा स्थानीय निर्वाचन कार्यालय समन्वय समिति गठन गर्ने र उक्त समितिलाई आवश्यक निर्देशन दिने कार्यक्षेत्र तोकिएको छ ।

यसैगरी उपनिर्वाचनमा उचित सुरक्षा व्यवस्थापनको अवस्था हेरी सो सम्बन्धमा निर्वाचन आयोगको ध्यानाकर्षण र समन्वय गर्ने गराउने, पार्टीका सम्बन्धित निकाय, उम्मेदवार र सदस्यहरुलाई पार्टीको पक्षमा प्रचार प्रसार गर्न र मतदान उत्प्रेरित गर्ने, मतगणनालगायतका कार्य व्यवस्थित गर्न क्रियाशील गर्ने तथा पार्टीको उम्मेदवार र सदस्यहरुबाट निर्वाचन कानून र आचारसंहिता तथा पार्टी विधानको परिपालना हुने अवस्था सुनिश्चित गर्ने लगायतका कार्यक्षेत्र तोकिएको पार्टी कार्यालयले जनाएको छ । रासस

Previous articleकास्की क्षेत्र नं.२ मा २१ उम्मेदवार चुनावी मैदानमा
Next articleनेकपा उम्मेदवार भट्टराईद्दारा स्व. गणेशमान सिंहको शालिकमा माल्यार्पण

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here