पोखरा- पोखराको कोमागाने पार्कमा जारी पन्ध्रौं फेवा नव वर्ष महोत्सव २०७५ अन्तर्गत फेवा तालमा सम्पन्न पर्यटक दौड प्रतियोगितामा फेवा डुंगा व्यवसायी संगठनको समूह ए प्रथम भएको छ ।

बसुन्धरा पार्कबाट सुरु भएको डुंगा दौडमा बाराही घाट सी द्वितीय र बाराही घाट ए तृतीय भएका छन् । सान्त्वना पुरस्कार भने फेवा डुंगा व्यवसायी संगठन बी ले प्राप्त गरेको छ । पहारी घाट, गौरीघाट, फिस्टेल घाट र अम्बट घाट सहित कूल नौ समूहले प्रतियोगितामा प्रतिस्पर्धा गरेका थिए । एक समूहमा तीन जना रहने गरी सुरु भएको दौडका सहभागी बाराही मन्दिरलाई फन्को मारी पुनः बसुन्धरा पार्क फर्किएका थिए ।

प्रतियोगितामा प्रथम हुनेले १५ हजार रुपैयाँ, द्वितीय हुनेले १० हजार रुपैयाँ र तृतीय हुनेले पाँच हजार रुपैयाँ समूहगत पुरस्कार पाए । सान्त्वना पुरस्कारबापत तीन हजार रुपैयाँ प्रदान गरिएको छ । फेवा ताल बचाउन सचेतना फैलाउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको महोत्सवका खेलकूद संयोजक तिलक वहादुर अधिकारीले जानकारी दिए ।

फेवा तालको संरक्षण गरौं भन्ने मूल उद्धेश्यले आयोजित फेवा नयाँ वर्ष महोत्सव अन्तर्गत सो तालका संरक्षणमा सन्देश फैलाउने उद्धेश्य प्रतियोगिताले लिएको आयोजक पश्चिमाञ्चल होटल संघपोखराका अध्यक्ष एवं महोत्सवका संयोजक विकल तुलाचनले जानकारी दिए । नारा पोखरा र सशस्त्र प्रहरी बलले उद्धार तथा प्राविधिक सहयोगका लागि जिम्मा लिएका थिए । नारा पोखराका अध्यक्ष वीरेन्द्र लामा, आयोजक संघका सल्लाहकार गोविन्दराज पहारी र अध्यक्ष तुलाचनले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

महोत्सव अन्तर्गत शुक्रबार स्थानीय हल्लनचोकबाट पर्यटक दौड सुरु हुने संघका महासचिव गणेशराज पहारीले जानकारी दिए । यसैगरी शुक्रबार दिउसोका आकर्षणमा रत्यौली गीत, भजन चुड्का, खुला नृत्य रहेका छन् । राजु गुरुङ, कृष्ण गुरुङ, कुमार पुन, प्रेमराज अधिकारी, आयुषा गुरुङ, शान्ती डोटेल, राम्जी पौडेल, शंकर विरही गुरुङ र टेक क्षेत्रीको लोक दोहोरी पनि सुन्न सकिने छ । युवराज भण्डारी र राजेन्द्र नेपालीको हाश्यव्यंग्य प्रस्तुती पनि रहने जनाइएको छ । भीटेन र कालिप्रसाद बाँस्कोटाको प्रस्तुती भने साँझ पछि रहने छ ।

पर्यटन, संस्कृति र खानालाई मुख्य रुपमा प्रवद्र्धन गर्ने गरी आयोजित महोत्सवमा सबै गरी ४० स्टल रहेका छन् । अंग्रेजी नयाँ वर्ष जस्तै नेपाली नयाँ वर्षलाई पनि उत्तिकै महत्व दिएर मनाउने उद्धेश्य अनुरुप आयोजित महोत्सवले नेपाली संस्कृतिको संरक्षण गर्ने उद्धेश्य पनि बोकेको छ ।

Previous articleपोखरामा नयाँ गन्तव्यको रुपमा वाटर पार्क संचालनमा
Next articleअदालतमा भ्रष्टाचार : तीन तलाको भवनमा सात तलाको लिफ्ट

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here