बसन्त रानाभाट बार्सिलोना/ युरोप सपना बोकेका नेपालीहरु लिबिया देखि सामुन्द्रिक बाटो हुँदै ईटाली छिर्ने क्रम अझै रोकिएको छैन। मानवतस्करले डोर्याएको बाटोमा जोखिम मोल्दै लाखौ रुपैयाँ खर्च गरेर युरोप छिर्ने नेपालीहरुको संख्यामा कुनै कमी नआएको हो।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीका अनुसार गत नोभेम्बरमा डुंगाबाट यात्रा गर्दा एक जना नेपाली युवाले ज्यान गुमाए पनि सोहि बाटो हुँदै ज्यानको जोखिम मोल्ने नेपालीहरुको संख्यामा अझै कमी आएको छैन।

यति नै आए भन्ने नेपालीहरुको यकिन तथ्याङ्क नभए अफ्रिकी मुलका आप्रबासीहरुसँगै सामुन्द्रिक डुंगा चढेर ईटाली प्रबेश गरीरहेको दाबी संघले गरेको छ।

६ महिना अघि मात्र १२ जना नेपालीहरु लिबिया देखि जलमार्ग हुँदै डुंगा चढेर ईटाली छिरेका थिए। डुंगामा पानि छिरेर अत्तालिएपछि म्याग्दी रघुगंगा गाउपालिका पाखापानीका ३६ बर्षिय धनमान पुर्जाको ज्यान गएको थियो।

गैर आबासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद ईटालीका अध्यक्ष दिपेश कुमार रेग्मीले सामुन्द्रिक बाटो हुँदै अझै पनि नेपालीहरु धन र ज्यान दुवैको जोखिम मोलिरहेको बताउँछन्। उनले भने,”लिबियाबाट डुंगा चढेर होस् वा टर्की या साईप्रसबाट अबैध रुपमा ईटाली छिर्ने नेपालीहरुको संख्या उस्तै छ। मरिन्छ कि भन्ने डर मान्नु त परको कुरा जस्तोसुकै कठिनाई झेलेर पनि युरोप आउँछु भन्ने मनसाय देखिन्छ।”

संघका महासचिव छबिलाल कडेलका अनुसार अबैध रुपमा ईटाली छिर्ने नेपालीहरु संख्या ईटालीमा बढ़दै गएको छ। “इटाली पुगेर महिनामा नै १५- १७ सय युरो सम्म कमाईन्छ, कार्ड बन्छ भन्ने झुट्टा प्रलोभनमा परेको धेरै पिडितहरु बताउँछन्। त्यस्तो यहाँ छैन पहिले त बैधानिक बन्न नै मुश्किल छ,भाषा,सिप र अनुभव भयो भने पनि कमाउने ९ सय हजार युरो नै हो” उनले भने। तर अबैध रुपमा ईटाली छिर्ने बित्तिकैको अबस्था निकै दयनिय रहेको कडेल बताउँछन्।

पछिल्लो क्रममा साईप्रसबाट टर्की,बुल्गेरिया,सर्भिया,क्रोयसिया,स्लोभोनिया हुँदै ईटाली छिर्ने नेपालीहरु पनि बढिरहेका छन्। घरेलु कामदाररुपमा आएका नेपाली महिलाहरुले १० हजार बढी युरो खर्च गर्दै जंगलमा हिड्दै बोर्डर काटेर पनि ईटाली प्रबेश गरेका घटना सार्बजनिक भएका थिए।

स्रोतका अनुसार साईप्रसमा बिद्यार्थी भिसामा आएका युवाहरुलाई समेत ईटाली मोह जागेको छ। सोहि क्रममा दुई नेपालीहरु हाल सर्भियामा नै थुनिएको बताईन्छ। त्यसो त अबैध रुपमा युरोप छिर्ने क्रममा बिभिन्न देशको ईमिग्रेसनले समात्ने र छाड्ने सामान्य बनिसकेको पिडितहरु बताउँछन्।

ईमिग्रेसनबाट फुत्के पछि पनि पुन:मानवतस्करीलाई नै सम्पर्क गर्नु पर्ने बाध्यता रहेको भन्दै एक पिडितले भने,” न यताको न उताको भईन्छ,घर फर्कौ त लाखौ सक्किएको हुन्छ,उनीहरुलाई नै सम्पर्क गर्यो,बन्धक बनाएर फेरि पैसा नै असुल्छन्।

अबैध बाटो हुँदै ईटाली प्रबेश गरेका नेपालीहरुका अनुसार टर्कीमा थुप्रै नेपालीहरु अलपत्र छन्। मानवतस्करले केहिलाई बन्धक बनाएर पैसा असुल्ने गरेका छन् भने कोहि यता न उता जस्तो बिचिल्लिमा परेको पिडितहरु बताउँछन्।

पुर्जाको परिबारलाई सहयोग 

लिबिया हुँदै सामुन्द्रिक डुंगा चढेर ईटाली आउँने क्रममा ज्यान गुमाएका धनमान पुर्जाको परिबारलाई एनआरएनए ईटालीले सहयोग संकलन गरेको छ। म्याग्दी रघुगंगा गाउपालिका पाखापानीका ३६ बर्षिय पुर्जाको परिबारको सहयोगार्थ झन्डै ४ लाख २० हजार रुपैयाँ सहयोग संकलन गरेको संघले जनाएको छ। एनआरएन कै पहलमा पुर्जाको शबलाई ईटालीमा नै अन्त्यष्टि समेत गरिएको थियो।

संघका अध्यक्ष रेग्मीले भने,”  ”पुर्जाको परिबारमा अहिले दुख छ,१२ बर्षिय जेठा छोरा अपाङ्ग छन्,अन्य दुई छोराहरु ६ बर्ष र ४ बर्षका मात्र।अझ कान्छी छोरी त २ बर्षकी मात्र । घटना घटीहाल्यो, अब परिबार र उनका छोराछोरीहरुको भविष्य सम्झेर हामीले समुदायबाट सहयोग संकलन गरेका हौ।”

अफ्रिकी आप्रबासीहरुसँगै डुंगामा जोखिम मोलेर युरोप आउने क्रम बढिहेको बेला गैर आबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषदले कुनै चासो नराखेको रेग्मी बताउँछन्। उनले भने,” घटना बारे युरोप क्षेत्रलाई जानकारी दिएका थियौ तर अन्तराष्ट्रिय समन्वय परिषदले न त चासो देखाएको छ ,खोज खबर केहि पनि गरेको छैन।”

Previous articleराजपा संसदीय दलको नेतामा निर्वाचन हुने सम्भावना
Next articleवर्षाका बाबजुद पनि सामाजिक अभियन्ताहरु सफाइ अभियानमा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here