काठमाण्डौ – तराई मधेस केन्द्रित दल राष्ट्रिय जनता पार्टीको संसदीय दलको नेतामा निर्वाचन हुने सम्भावना देखिएको छ। राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर र अर्का अध्यक्ष राजेन्द्र महतोले दलको नेता नछाड्ने अडान लिएका कारण निर्वाचनको सम्भावना बढदै गएको छ। आगामी १० वैशाखभित्रमा राजपाले संसदीय दलको नेता छान्दैछ। आजको नागरिक दैनिकमा खबर छ ।

अध्यक्ष मण्डलका ३ जना ठाकुरको पक्षमा देखिएका छन् भने महतोको पक्षमा शरदसिंह भण्डारीमात्रै देखिएका छन्। ठाकुरको पक्षमा महेन्द्र राय यादव, अनिलकुमार झा र राजकिशोर यादव देखिएका छन्। राजपाको अध्यक्ष मण्डलमा ६ जना छन्।

‘अध्यक्ष मण्डलका ४ जना ठाकुरजीको पक्षमा देखिए पनि निर्वाचन भएको खण्डमा विजयी हुने भनेको महतोजी नै हो,’ एक नेताले भने, ‘राजपाका १७ सांसदमध्ये महतोजीको पक्षमा १० र ठाकुरजीको पक्षमा ७ जना छन्।’ संख्याको हिसाबले जित्ने भएकाले पनि महतो निर्वाचन लड्ने पक्षमा देखिएका छन्।

ती नेताका अनुसार महतोको पक्षमा सांसदहरु लक्ष्मणलाल कर्ण, रेशम चौधरी, प्रमोद साह, चन्द्रकान्त चौधरी, अमृत अग्रहरी र नरमाया ढकाल छन्। निर्जला राउत र शरदसिंह भण्डारीले पनि महतोलाई मत दिने बुझिएको छ।

ठाकुरको पक्षमा भने चन्दा चौधरी, दुलारीदेवी खत्वा, अकवल अहमदसहित अनिलकुमार झा र रानी मण्डल छन्। महेन्द्र राय यादव र राजकिशोर यादव पनि ठाकुरकै पक्षमा देखिने लगभग पक्का भएको छ। प्रतिनिधिसभा निर्वाचन सम्पन्न भएको ४ महिना नाघिसक्दा पनि राजपाले संसदीय दलको नेता चयन गरेको छैन।

राजपाले प्रदेशसभा र संघीय संसद्को संसदीय दलको विधान बनाउने निर्णय लिएको अध्यक्ष मण्डलका नेता अनिलकुमार झाले बताए। वैशाख ७ गतेलाई पार्टी स्थापना दिवस मनाउने घोषणा गरेको राजपाले पार्टीको एकता महाधिवेशन गर्ने निर्णय पनि लिएको झाले बताए।

Previous articleकर्णाली प्रदेशमा स्वास्थ्य जनशक्तिको चरम अभाव
Next articleसामुद्रिक डुंगा चढेर युरोप छिर्ने नेपालीहरुको ब्यथा (भिडियो सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here