पोखरा – प्रदेश ४ का मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले गरेको आदिवासी जनजाति सांस्कृतिक पर्व विदा कटौतिलाई फिर्ता लिनुपर्ने बताउनुभएको छ । तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदले पोखरामा आयोजना गरेको प्रदेश नामाङकन विचार गोष्ठीमा बोल्दै गुरुङले केन्द्र सरकारले संविधानको मर्म विपरित पर्वहरुको विदा कटौति गरेकाले तत्काल निर्णय सच्याउन आग्रह गर्नुभयो ।

मुख्यमन्त्री गुरुङले सार्वजानिक विदाका कारण देश विकास हुन नसकेको नभई राजनितिक दलका नेताहरु नै भष्ट्राचार प्रमुख कारण भएको आरोप लगाउनुभयो । गुरुङले देशका सबै तह र तप्कामा समान अधिकार र पहुँच हुनुपर्ने भन्दै सडकको बलमा अधिकार स्थापित गर्न खोजेर अस्थिरता ननिम्त्याउन अनुरोध गर्नुभयो । उहाँले प्रदेश ४ गुरुङ जातिको अदिम थलो भएको भन्दै सबै जातजाति, समुदायको सहमति र सहकार्यमा प्रदेश नामाकरण गरिनेमा जोड दिनुभयो । प्रदेश नामाकरण गर्न संसदीय समिति बनेको भन्दै संसदको दुई तिहाइले नामाकरण गर्न सक्ने व्यवस्था रहेको भन्दै नामाकरणमा व्यापक छलफल हुनुपर्ने बताउनुभयो ।

पोखरा सभागृह हलमा आयोजित गोष्ठीमा बोल्दै एमाले सांसद इन्द्रधारा विष्टले समय सापेक्ष प्रदेशको नामाकरण हुनुपर्ने भन्दै संसद समिति संग छलफल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले अधिकार स्थापित गर्न आफैँ भित्र एकता हुनुपर्ने समेत बताउनुभयो । कार्यक्रममा नेपाली कांग्रेसका सांसद कृष्णचन्द्र नेपालीले सबैको अधिकार सुनिश्चित भए मात्र राष्ट्र बलियो हुने भन्दै सरकार एकात्मक सोँच बाट पछि हट्नुपर्ने बताउनुभयो । उहाँले सरकारले गुरुङ समुदायको एक दिने बिदालाई समेत कटौति गरेर एकात्मक साँेच पालेको जिकिर गर्नुभयो ।

कार्यक्रममा माओवादी केन्द्रका प्रदेश सांसद गायत्री दुरा गुरुङले पार्टीले प्रदेशलाई पहिचानका आधारमा नामाङकन गर्न लबिङ्ग गरिरहेको बताउनुभयो । त्यसैगरी राष्ट्रिय जनमोर्चाका सांसद पियारी थापाले सबै जातजातिको अधिकार सम्मान हुनुपर्ने भन्दै अधिकार लडेर लिनुपर्ने औल्याउनुभयो । नयाँ शक्ती पार्टीका सांसद हरिशरण आचार्यले प्रदेश ४ लाई गुरुङ जातिको पहिचानका आधारमा तमुवान नामाकरण नगरिए नोट अफ डिसेण्ट लेख्ने प्रतिवद्धता जाहेर गर्नुभयो उहाँले गुरुङहरुको थतथलो रहेको प्रदेश ४ लाई तमुवान प्रदेश घोषणा गर्न आफ्नो पार्टीले पहल गर्ने समेत बताउनुभयो ।

गोष्ठीमा बोल्दै आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बरामले जातिय सदभाव बिथोल्न सरकार नै अगाडि बढेको भन्दै सबै धर्म, जातजातिको समान अधिकार हुनुपर्नेमा जोड दिनुभयो । आदिवासी जनजाति अगुवा डा. ओम गुरुङले ऐतिहासिक, राजनितिक आधारमा प्रदेश ४ को नाम तमुवान राख्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा तमु ह्युल छोँज धीं गुरुङ राष्ट्रिय परिषदका अध्यक्ष रेशम गुरुङले सरकारले गुरुङ समुदायको महान पर्व ल्होसारमा दिदै आएको सार्वजानिक विदालाई यथावत राख्नुपर्ने भन्दै विदा कटौति निर्णय फिर्ता नलिए सडक आन्दोलनमा जाने चेतवानी दिनुभयो ।

Previous articleसरकारको अर्जुनदृष्टि विकास र समृद्धिमा : मन्त्री रवीन्द्र अधिकारी
Next articleदेउवा नेतृत्वको सरकारले थप १ लाख अनुदान दिने भनेर झुट बोलेको खुलेसा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here