काठमाडौं – नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकले प्रदेश इन्चार्जको जिम्मेवारी समेत हेरफेर गरेको छ ।नेकपा माओवादी केन्द्रको अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा बसेको केन्द्रीय कार्यालयको बैठकले तोकेको नयाँ जिम्मेवारी अनुसार प्रदेश नम्बर–१मा राम कार्की, प्रदेश नम्बर–२ मा विश्वनाथ साह, प्रदेश नम्बर–३ मा हितमान शाक्य, प्रदेश–४ मा हितराज पाण्डे, प्रदेश नम्बर–५ मा मणि थापा, प्रदेश नम्बर–६ मा जनार्दन शर्मा र प्रदेश नम्बर–७ मा लेखराज भट्टलाई जिम्मेवारी तोकिएको छ ।

प्रदेश नम्बर–१ का इन्चार्ज गोपाल किराँतीले पार्टी छोडेको,प्रदेश नम्बर–२ का मातृका प्रसाद यादव, प्रदेश नम्बर–५ का वर्षमान पुन र प्रदेश नम्बर–६ का शक्ति बस्नेत मन्त्री बनेको र प्रदेश नम्बर–४ का देव गुरुङ संसदीय दलको प्रमुख सचेतक बनेका कारण जिम्मेवारीमा हेरफेर गरिएको माओवादी केन्द्रले जनाएको छ ।

यसैबिच, नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीचको पार्टी एकतालाई शीघ्र टुंग्याउने गरी आवश्यक तयारी गरिएको छ ।दुवै पार्टीले पार्टी एकतालाई अन्तिम टुंगो लगाउने गरी आन्तरिक तथा दुई पक्षीय तयारीलाई तीव्र पारेका छन् ।सकेसम्म चैत महिना भित्रै पार्टी एकतालाई निष्कर्षमा पुर्याउने गरी तयारी थालिएको बताईएको छ । चैत महिना भित्रै पार्टी एकतालाई तार्किक निष्कर्षमा पुर्याउने गरी आवश्यक तयारी थाल्ने निर्णय गरेको छ । बैठकले केही दिनभित्रै एकता संयोजन समितिको बैठक बस्ने र एकता प्रक्रियालाई निष्कर्षमा पुर्याउने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका केन्द्रीय कार्यालय सदस्य मणि थापाले पार्टी एकतालाई चाँडै टुंग्याउने गरी दुवै पार्टीले गृहकार्य अगाडि बढाएको जानकारी दिए ।उनले आगामी साता एकता प्रक्रियालाई अन्तिम रुप दिने गरी छलफल अगाडि बढाइएको र सोही अनुसार प्राविधिक एवं सैद्धान्तिक पाटोलाई अन्तिम चरणमा पुर्याइएको बताए । नेकपा एमाले र नेकपा माओवादी केन्द्रले नेपालमा कम्युनिस्ट पार्टी स्थापना भएको दिन वैशाख १० गते पार्टी एकता घोषणा गर्ने बताउँदै आएका थिए । तर, सो समयसीमा भन्दा अगावै पार्टी एकता गर्ने गरी तयारी गरिएको छ ।

Previous articleसांसद राजिव पहारीले फेवाताल संरक्षणको लागि २ महिनाको तलव दिए
Next articleकांग्रेस केन्द्रीय समितिमा वरीयताक्रमलाई लिएर फेरि विवाद सुरु

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here