पोखरा – रुपातालको प्रचारप्रसार गर्न शान्ति रुपा बराहथोक तमु युवा परिवारले पोखराको रुपाताल छेउमा ‘सिस्टेनी मेला’ आयोजना गर्ने भएको छ । रुपाताल खोलाको छेउमा परापूर्व कालदेखी लाग्दै आएको पूरानो सिस्टेनी मेलालाई निरन्तरता दिँदै परिवारले चैत १० गतेदेखि १३ गतेसम्म मेला आयोजना गर्न लागेको हो ।

मेलाबारे जानकारी दिन सोमबार पोखरामा आयोजना गरिएको पत्रकार सम्मेलनमा परिवारका सचिव सुनिल गुरुङले परापूर्वदेखी लाग्दै आएको मेलालाई ब्यूँताउन सानो प्रयास स्वरुप मेला सुरु गर्न लागिएको बताए । ‘रुपाताल छेउमा केही २० वर्षअघिसम्म चैते दशैको अवसरमा दुई दिने ठूलो मेला लाग्थ्यो । जसलाई सिस्टेनी मेला भनिन्थ्यो ।

हजारौंको सहभागीता हुने उक्त मेलामा विभिन्न मनोरञ्जनात्मक कार्यक्रम पनि हुन्थे’ परिवारका सचिव सुनिल गुरुङल भने,‘ जहाँ स्थानीयस्तरमा उत्पादन भएका माटोको भाँडा, कुटो कोदालो, चोयाबाट बन्ने नाङ्लो, डोको लगायतका सामाग्री किन्ने गतिलो अवसर यहि मेला थियो । त्यही अवसर सिर्जना गर्न मेला गर्न लागेका हौं ।’

मेलाकै अवसरमा आयोजना हुने ‘प्रथम खुला जुनियर पुरुष भलिबल’ प्रतियोगिता पहिलो आकर्षण रहेको मेलाको सहआयोजक शान्ति बराहथोक तमु समाजका अध्यक्ष सुवेदार तुलबहादुर गुरुङले जानकारी दिए । प्रतियोगितामा कास्की, लमजुङ, तनहुँ, स्याङजा लगायतका जिल्लाबाट २० टिम सहभागी हुने उनले जनाए ।

प्रतियोगितामा प्रथम हुने टिमलाई ६० हजार रुपैयाँ, उपविजेताले पुरस्कार स्वरुप ४० हजार रुपैयाँ, प्रमाणपत्र, मेडल र ट्रफी पाउनेछन् । यसैगरी उत्कृष्ट खेलाडीले २ हजार रुपैयाँ, अनुशासित टिमलाई ३ हजार रुपैयाँ, जर्सी, मेडल र प्रमाणपत्र पुरस्कार पाउने सचिव गुरुङले जानकारी दिए । मेला सम्पन्न गर्नको लागि २ लाख ४ हजार ५ सय खर्च हुने र २ लाख ५० हजार आम्दानी हुने अनुमान गरिएको कोषाध्यक्ष सुजन गुरुङले बताए ।

मेलामा लाग्ने उक्त खर्च विभिन्न व्यक्ति र संस्थाबाट सहयोग संकलन गरि जुटाइनेछ । मेलामा सहभागी हुने दर्शकहरुको लागि स्थानीय कलाकारहरुबाट विभिन्न मनोरञ्जनमुलका कार्यक्रम गरिने क्लबका सल्लाहकार चन्द्र गुरुङले बताए । उनले मेलाकै अवसरमा छेलो हान्ने प्रतियोगिता, रस्सी तान्ने प्रतियोगिता लगायत कार्यक्रम पनि राखिएको जानकारी समेत दिए ।

मेलाको आयोजक शान्ति रुपा बराहथोक तमु युवा परिवार रहेको छ भने शान्ति रुपा बहारथोक तमु समाज, शान्ति रुपमा आमा समूह, रुपा युवा क्लब, नौलो तारा क्लबले सहआयोजकको भूमिका निभाउनेछन् । मेलामा छेलो हान्ने, रस्सी तान्ने प्रतियोगिता समेत हुनेछ ।

Previous articleपोखरामा चैत १५ र १६ गते ‘को–अपरेटिभ इन्भेष्टमेन्ट समिट’ हुने
Next articleतीनवटै राप्रपा मिलाएर एउटै पार्टी बनाउन पूर्वराजा ज्ञानेन्द्र शाहको जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here