काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले तेश्रो पटक मन्त्रिपरिषद् विस्तार गर्दा कास्कीबाट दुई जना मन्त्री बनेका छन् । कास्कीका रविन्द्र अधिकारी पर्यटन र जगत विक युवा तथा खेलकुद मन्त्रि बनेका हुन् ।

ओलीले एमाले र माओवादी केन्द्रबाट एघार मन्त्री र चार राज्यमन्त्री थप गरेका हुन्। राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाएकी हुन्।

ओलीले एमालेबाट प्रदीप ज्ञवालीलाई परराष्ट्र, गोकर्ण विष्टलाई श्रम तथा रोजगार, रवीन्द्र अधिकारीलाई पर्यटन, शेरबहादुर तामाङलाई कानून तथा संसदीय मामिला मन्त्री बनाएका छन्। त्यस्तै, रघुवीर महासेठ भौतिक योजना तथा पूर्वाधार मन्त्री बनेका छन्। एमालेबाट जगत विश्वकर्मा युवा तथा खेलकुद मन्त्री बनेका छन्।

ओलीले‍ केही राज्यमन्त्री समेत थप गरेका छन्। गोकलु बास्कोटालाई सञ्चार राज्यमन्त्री बनाइएको छ। त्यस्तै, पद्मा अर्याल स्वास्थ्य राज्यमन्त्री, धनबहादुर बुढालाई संस्कृति राज्यमन्त्री बनाएको छ।

माओवादीबाट गिरिराजमण पोखरेल शिक्षा, वर्षमान पुन उर्जा मन्त्री बनेका छन्। माओवादीबाट शक्ति बस्नेत वन मन्त्री , बिना मगर खानेपानी र चक्रपाणी खनाल ‘बलदेव’ कृषि तथा सहकारी मन्त्री बनेका छन्। माओवादीले रामकुमारी चौधरीलाई कृषि राज्यमन्त्री बनाएको छ।

गत फागुन ३ गते प्रधानमन्त्री बनेका ओलीले सोही दिन लालबाबु पण्डित र थममाया थापामगरलाई मन्त्री बनाएका थिए। त्यसको केही दिन पछि फागुन १४ गते ओलीले सरकारमा एमालेका दुई र माओवादी केन्द्रका दुई मन्त्री थप गरेका थिए।

ओलीले एमालेका इश्वर पोखरेललाई रक्षा, युवराज खतिवडालाई अर्थ मन्त्री बनाएका थिए। त्यस्तै माओवादीको तर्फबाट रामबहादुर थापा बादललाई गृह र मातृका यादवलाई उद्योग मन्त्री बनाएका थिए। सरकारमा अब प्रधानमन्त्री सहित एमालेका ११ मन्त्री भएका छन् भने ३ राज्यमन्त्री भएका छन्। त्यस्तै माओवादीका ७ मन्त्री र १ राज्यमन्त्री भएका छन्।

Previous articleसरकारले तीन साता नपुग्दै मन्त्रालयको संख्या बढायो
Next articleपत्रकारिता स्वतन्त्र हुनुपर्नेमा न्यायाधीस कुमार चुडालको जोड

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here