पोखरा – नेपालको लागि म्यान्मारका राजदूत थिरी पेन्ची यु तुन नाय लिनले बुद्धिष्ट सर्किट संचालनमा आउन सके यसले नेपाल र म्यानमार दुबैको पर्यटन बृद्धिमा सहयोग पुग्ने बताउनुभएको छ। ‘नेपालले बिमिस्टेक बैठकमा समेत बुद्धिष्ट सर्किटको कुरा उठाएको छ’, पोखरा उद्योग वाणिज्य संघले शुक्रबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै राजदूत लिनले भन्नुभयो,‘ जनस्तरमा सम्बन्ध बिस्तारको लागि पनि यो फलदायी हुनेछ ।

बुद्ध जन्मस्थल लुम्बिनीलाई केन्द्र बनाएर भारतका विभिन्न सहर, भुटान,थाइल्याण्ड र म्यानमारलाई पनि जोडिने पर्यटकीय मार्ग नै बुद्धिष्ट सर्किट हो । राजदूत लिनले नेपाल र म्यानमारबीच पुरानो सम्बन्ध रहेको चर्चा गर्दै ३ लाखभन्दा बढीको संख्यामा नेपाली भाषीहरु वर्मामा रहेको जानकारी दिनुभयो ।

‘ मैले नै ३ लाखभन्दा बढी नेपालीहरु वर्मामा रहेको थाहा पाएको छु’, सैनिक पेशामा लामो समय बिताउनुभएका राजदूत लिनले भन्नुभयो,‘अफिसरसहित ४ सय जना नेपाली भाषी त बर्माको सेनामै रहेका छन् ।’ म्यानमारका धेरै जनताहरु बुद्धजन्मस्थल लुम्बिनी आउन चाहेको बताउँदै उहाँले लुम्बिनीको विकासको लागि बर्माको तर्फबाट भएको सहयोगको पनि स्मरण गर्नुभयो ।

कार्यक्रम तथा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष विश्वशंकर पालिखेले पर्यटन प्रवद्र्धनको लागि म्यानमार र नेपालबीच सहकार्य हुनुपर्नेमा जोड दिनुभयो । नेपालको निजी क्षेत्र र पोखराका उद्योगी÷व्यवसायीहरु म्यानमारसँग जनस्तरको सम्बन्ध बिस्तारको लागि तयार रहेको उहाँको भनाई थियो । पोखरा उद्योग वाणिज्य संघका उपमहासचिव अर्जुन पोखरेलले संचालन गर्नुभएको कार्यक्रममा कार्यसमिति सदस्य गीता तिवारी र प्रकाशदेव पालिखेले पनि मन्तव्य राख्नुभएको थियो ।

Previous articleआइतबार मन्त्रिपरिषद्लाई पूर्णता दिने ओलीको तयारी
Next articleसंघियताको व्यवहारिक कार्यान्वयनमा जुट्न मन्त्री चुमानको आग्रह

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here