बार्सिलोना—बीबीसी विश्वसेवामा वातावरण संवाददाताको रुपमा कार्यरत पत्रकार नवीन सिंह खड्का सम्मानित हुने भएका छन्। युरोपबाट सञ्चालित अनलाइन पत्रिका नेपालीनेपाली डटकमको तेस्रो वार्षिकोत्सव समारोहमा पत्रकार खड्का सम्मानित हुने भएका हुन्। आगामी जुलाई २८ तारिख जर्मनीको फ्रयाङ्कफर्टमा आयोजना गरिने समारोहमा उनलाई सम्मान गर्न लागिएको हो।

बीबीसी विश्वसेवामा उनका रिपोर्टहरु बीबीसी टेलिभिजन, अनलाइन र रेडियो प्रकाशित/प्रसारित हुने गरेका छन्। खड्काले यसअघि काठमाडौं र लण्डनमा बीबीसी नेपाली सेवाको प्रड्युसरको रुपमा काम गरेका थिए।

उनले खासगरी हिमाली क्षेत्रको वातावरण र जलवायु परिवर्तनबाट त्यहाँका जनजीविकामा परिरहेको असरका बारे रिपोर्टहरु गर्ने गरेका छन्। गत बीस वर्षदेखि संयुक्त राष्ट्र संघका सबै वातावरणीय विश्व संमेलनहरुमा पुगेर रिपोर्ट गरिसकेका खड्का १५ वर्ष अघि बीबीसीमा प्रवेश गरेका थिए।

बीबीसी अघि उनले आठ वर्षसम्म काठमाडौंका सबैजसो प्रमुख अँग्रेजी अखबारहरु र रेडियो सगरमाथा लगायतका मिडियामा  काम गरेका थिए। दक्षिण एसियासम्बन्धी दुईवटा पुस्तकहरुमा उनका लेख प्रकाशित भएका छन्।

नेपालीनेपाली डटकमका प्रधानसम्पादक बसन्त रानाभाटले पत्रकार खडकालाई सम्मान गर्न पाउँदा खुशी ब्यक्त गरे। ‘डायस्फोराबाट सञ्चालित नेपाली अनलाइन मिडियाका गतिबिधिहरुमा अग्रजहरुको सहभागिताले अझ ठूलो हौसला र प्रेरेणा प्रदान गरेको छ’, उनले भनेका छन्, ‘पत्रकार खड्कालाई सम्मानसहित हामी युरोपमा नेपाली पत्रकारिताको सम्भावना र चुनौती विषयमा पनि बृहत् छलफल गर्दैछौं।’

गतवर्ष नेपालीनेपालीले बीबीसी नेपाली सेवाका पूर्व प्रमुख खगेन्द्र नेपाली सम्मानित गरेको थियो।

कार्यक्रममा बीबीसी नेपाली सेवाका भगिरथ योगीसहितका पत्रकारले सहभागिता जनाउँदै छन्। एनआरएनको युरोपेली बैठकको अघिल्लो दिन कार्यक्रम तय गरिएक हुँदा नेपालबाट आउने विशिष्ट पाहुना, अग्रज पत्रकारहरु तथा युरोपको नेपाली समुदायको बाक्लो उपस्थिति रहने अपेक्षा आयोजकको छ।

नेपाली बालबालिकाबारे बिशेष रिपोर्ट

नेपालीनेपालीले विदेशमै नै जन्मेर हुर्केका बालबालिकाहरुलाई नेपाली भाषा र संस्कृति सिकाउन प्रेरित गर्दै कार्यक्रमको पहिलो चरणमा बिशेष रिपोर्ट प्रस्तुत गर्नेछ। ‘हाम्रो भाषा र संस्कृति, पहिचानको आधार स्तम्भ’ भन्दै युरोपभर नेपाली भाषा सिकाउन भएका प्रयासबारे विशेष रिपोर्ट प्रस्तुत गर्न लागिएको हो।

गैर आवसीय नेपाली संघका अभियान्ताहरुको बाक्लो उपस्थिति रहने अपेक्षा गरिएको उक्त समारोहबाट प्रत्येक राष्ट्रिय समन्वय परिषदले कम्तिमा एउटा नेपाली भाषा कक्षा संचालन गर्न प्रेरित गरिनेछ। मिडियाले हरेक बर्ष प्रदान गर्दै आएको ‘युरोप वर्ष व्यक्तित्व सम्मान’बाट एक जना सामाजिक अभियन्तालाई सम्मान गर्नेछ। यसबारे मिडियाले सोही दिन घोषणा गर्ने जनाएको छ।

Previous articleसुभाष सुन्दास र रामु परियारको अर्को कभर गीत “बसन्त”
Next articleनेपाली जनप्रगतिशिल मन्च स्विट्जरल्याण्ड द्वारा हार्दिक श्रद्धाञ्जली

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here