आगामी अप्रिल १३ र १४ तारिकका दिन डेनमार्कको राजधानी कोपेनहेगन शहर कलाकारमय हुने भएको छ। अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासले महादेशस्तरीय नृत्य र गायन प्रतियोगिता सहित आयोजना गर्ने पाचौं युरोप महादेशस्तरीय कार्यक्रममा युरोप स्थित कलाकार, साहित्यकार, कुटनैतिक निकायका प्रतिनिधिहरु, विभिन्न सामाजिक, सांस्कृतिक तथा अन्य सामूदायिक संघसंस्थाहरुका प्रतिनिधीहरुको निकै ठूलो जमघट हुने भएको हो।

नेपाली प्रतिभाको अन्तर्राष्ट्रिय पहिचान तथा युरोपबाट नेपालमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्य सहित नेपाल सरकार, नेपाल पर्यटन बोर्डले शुरु गरेको ‘नेपाल भ्रमण वर्ष २०१७ युरोप’ अभियानलाई सांस्कृतिक माध्यमबाट सहयोग पुर्र्याउने अभिप्रायले आयोजना गरिन लागिएको यसपटकको कार्यक्रम अघिल्लो वर्षहरु भन्दा केहि पृथक हुने जानकारी आयोजक राष्ट्र इनास डेनमार्कका अध्यक्ष सन्तकुमार थापा मगरले जानकारी गराएका छ्न। नेपाली राजदूतावास डेनमार्क, गैर आवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद संस्कृति तथा सम्पादन प्रवर्द्धन समिति, गैरआवासीय नेपाली संघ डेनमार्क, नेपाली जनसम्पर्क समिति, प्रवासी नेपाली मंच, जनप्रगतिशील मंच लगायत डेनमार्क स्थित अधिकांश संघ-संस्थाहरुका साथै डेनमार्कका लागि नेपाल पर्यटनदूतहरु, युरोप स्थित इनासका राष्ट्रिय समितिहरु, भुट्निज कम्युनिटी नेदरल्याण्ड्स, नेपाल-जर्मन मैत्री संघ लगायतका युरोपका संघ-संस्थाहरुको सहयोग र सहकार्य रहने अध्यक्ष थापा मगरले बताए। नेपाली नयाँ वर्ष २०७४ तथा नेपाल-डेनमार्क दौत्य सम्बन्ध स्थापनाको पचासौ वर्ष पुगेको अवसर पारेर आयोजना गर्न लागिएको यस कार्यक्रमलाई ब्यबस्थापकीय हिसाबले उत्कृष्ट बनाउन इनास डेनमार्क कमिटि लागिपरेको र विश्व समुदायबाट बहुत चासोका साथ हेरिको यस कार्यक्रमलाई सफल बनाउन कुनै कसर बाँकी नराखिने कार्यक्रम संयोजक रबिन्द्र खड्काले बताए । यसका लागि इनास डेनमार्कका अध्यक्ष, उपाध्यक्ष, महासचिव, कोषाध्यक्ष, डेनमार्कबाट ग्लोबल समितिमा प्रतिनिधित्व गर्ने सदस्य सहित सम्पूर्ण टिम नै एकभएर लागिपरेको उनको भनाई छ।

कार्यक्रमको प्रारम्भिक रुपरेखा अनुसार पहिलो दिन अर्थात १३ अप्रिलमा युरोप महादेशीय क्षेत्रीय बैठक आयोजना गरिने भएको छ। इनास ग्लोबल, युरोप तथा युरोपस्थित विभिन्न मुलुकमा रहेका राष्ट्रिय समितिका पदाधिकारीहरु, विभिन्न सांस्कृतिक, साहित्यिक, सामाजिक तथा अन्य संघ-संस्थाका प्रतिनिधिहरु, समाजका विभिन्न अंगमा रही कार्यरत व्यक्तित्वहरुको ठूलो संख्यामा उपस्थिति रहने यस बैठकको उदघाटन चरणमा उपस्थित सबै संघ संस्थाका प्रतिनिधीहरुलाई छोटो शुभकामना मन्तव्यको लागि समय प्रदान गरिनुका साथै आफू अन्तर्गत रहेका राष्ट्रिय समितिहरुद्वारा प्रस्तुत हुने वार्षिक प्रतिवेदन र भावी कार्य-योजना माथि सामूहिक छलफल गरी निष्कर्ष निकालिने इनास युरोपले जनाएको छ। यसै वर्ष आयोजना गरिने इनासको दोश्रो विश्व सम्मेलन तथा पाँचौ इनास चलचित्र अवार्डको मिति तथा स्थान त गर्ने विषयलाई समेत बैठकको एजेण्डाको रुपमा राखिने इनास युरोपका संयोजक अर्जुन काफ्ले र सहसंयोजक द्वय गुणराज शर्मा तथा सनम कुमार बैरागले बताए । उहाँहरुका अनुसार कार्यक्रमको दोश्रो दिन अप्रिल १४ तारिक निकै विशेष हुनेछ। प्रतिष्पर्धात्मक तथा विशेष सांगीतिक कार्यक्रमसहित आयोजना हुने उक्त दिन बेलायत, बेल्जियम, जर्मनी, फ्रान्स, नेदरल्यान्ड्स, पोल्याण्ड, इटाली, स्पेन, पोर्चुगल, डेनमार्क, स्विजरल्याण्ड, चेक गणतन्त्र लगायतका देशहरुबाट छानिएर आएका दर्जनौ कलाकारहरु बीच ‘इनास युरोप डान्सिङ्ग तथा सिङ्गिङ्ग स्टार २०१७’ उपाधिका लागि अन्तिम प्रतिष्पर्धा हुनेछ भने शर्मिला बर्देवा, राजेश पायल राई, सुभाष सुन्दास, विङ्ग नृत्यमा पारङ्गत जर्मनी नृत्यांगना श्री सारजाह हाउसमन, लाखे नृत्यमा ख्याति कमाएका बेलायतबासी नेपाली कलाकार बिनोद चिपालु लगायतका चर्चित नेपाली तथा बिदेशी कलाकारहरुको जोडदार प्रस्तुति रहनेछ। यो संस्थाले स्थापनाकालदेखि हालसम्मका आयोजना गरेका युरोप प्रतिष्पर्धाका सबै बिजेता तथा उप-बिजेता कलाकारहरु र अन्य कलाकारहरुले समेत विभिन्न सांगीतिक प्रस्तुतीहरुमार्फत कार्यक्रमलाई अति अविष्मरणीय र ऐतिहासिक बनाउने भएका छन।

Previous articleस्विट्जरल्याण्डमा “हिन्दू धर्म लागि स्विस छाता संगठन” नामक संस्था गठन
Next article“यो साँझ एक्लै छोडिदेउ” गीत म्युजिक भिडियो सहित सार्बजनिक

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here