– कुमार पन्त, उपाध्यक्ष, गैरआवासीय नेपाली संघ

नेपालीमा एउटा उखान छ, आफैं त महादेव उत्तानो टाङ कसले देला वर। अर्थात जब हामी आफैसँग केही छैन भने हामीसंग अरुलाई दिने कुरा पनि केही रहँदैन। यतिबेला तीस लाख नेपालीहरु आफ्नो प्यारो मातृभूमि छोडेर विदेशिएका छन्। यसरी विदेशिनु हाम्रो कुनै रहर होइन। यो त केबल हाम्रो बाध्यता हो। तर हामी विदेशको कुनै कुनामा रहेपनि मातृभूमि नेपाल प्रति हाम्रो अगाध माया छ। हामी चाहन्छौं, हामी जसरी नै हाम्रो भावी पुस्ताले रोजगारी र अवसरको खोजिमा विदेसिनु नपरोस्।

तर जबसम्म नेपाल सबल र समृद्ध बन्दैन तबसम्म यसरी ठूलो यूवा जमात विदेसिने क्रम पनि रोकिदैन। हामीलाई थाहा छ, सम्बृद्ध नेपालको कल्पना हामी एनआरएनहरुले चाहेर मात्र पूरा हुने वाला छैन। तर पनि जिम्मेवार नागरिकको हैसियतले हामी पनि जर्जर बनेको मुलुकको अर्थतन्त्रलाई केही हदसम्म टेवा दिनका लागि हातेमालो गर्न चाहनछौं। त्यसैको निम्ति संयुक्त लागानीको  नाममा १०० मेगावाटसम्मको जल विद्युतमा लगानी गर्ने एउटा महत्वाकांक्षी योजना एनआरएनले अगाडि सारेको छ। यस योजनामा करिब एक अरब रुपैयाँ संकलन गरेर व्यवहारमा नै एनआरएनहरु देश विकासको निम्ति साँच्चै केही गर्न चाहन्छन् भन्ने कुरा प्रामाणित गरेका छन्। म आँफै संयुक्त लागानीको निम्ती एनआरएनएले बनाएको कार्यदलको सह-प्रमुख रहेको थिएँ। जसको माध्यमबाट मैले एउटा महत्वपूर्ण कुरा सिक्ने मौका पाएँ। त्यो के भने एनआरएनहरु आ-आफ्नो क्षमता अनुसार नेपालको विकासका खातिर लगानी गर्न तयार छन्।

अब सवाल के भने विदेशमा बस्ने नेपालिहरुको आर्थिक हैसियत कस्तो छ त? उत्तर स्वभाविक छ नेपालीहरु विदेशिने क्रम खासमा २०४६ को परिवर्तन पश्चात् मात्र सुरु भएको देखिन्छ। यो छोटो अवधिमा निश्चित रुपमा हाम्रो हैसियत सयौं वर्षदेखि विदेशिएका  भारतीयहरुको जस्तो बनिसकेको छैन। तर पनि संयुक्त लागानीको अभियानले के कुरा प्रमाणित गरिदियो भने यदि एनआरएनहरुसँग अझै दरो आर्थिक हैसियत हुने हो भने नेपालको आर्थिक विकासको निम्ती उनीहरु भरपर्दो खम्बा बन्न सक्छन् र विदेशमा बस्ने नेपालीहरुले अर्को एउटा के कुरा प्रमाणित गरिदिएका छन् भने अवसर पाएको खण्डमा जस्तो सुकै चुनौतिहरुका बीचमा पनि उनीहरु आफ्नो व्यवसायमा सफल हुन सक्छन्। विगत १० वर्षको अवधिलाई मात्र हेर्ने हो भने पनि सफल नेपाली व्यवसायीहरु दिन दुईगुना अनि रात चौगुना बढ्दै गइरहेका छन्। यसरी सफल बन्दै गइरहेका नेपालीहरुले एक आपसमा सिकेका ज्ञान, प्रबिधि र अनुभवलाई साटासाट गर्दै विदेशमा आफू बसेका बिभिन्न देश तथा शहरहरुमा समेत संयुक्त लगानीको अभियानलाई दौडाउनु पर्ने आजको प्रमुख आवश्यकता हो भन्ने मैले महशुस गरेको छु। यसो हुन सकेमा विदेशमा बस्ने आर्थिक रुपमा सम्पन्न नेपालीहरुले नेपालको आर्थिक विकासमा अझै ठूलो योगदान गर्न सक्नेछन।

-साभार: स्विटजरल्याण्डको जुरीखमा सन २०१३ मा आयोजित छैठौं एनआरएनए यूरोपली क्षेत्रीय बैठकको अबसरमा प्रकाशित “नेपालय” स्मारिका ।

Previous articleदाम्लोमा बाँधिएकी गर्भवतीको उद्धार, महिला र शिशुको जीवनरक्षाका लागि सहयोगीहरुको खोजी हुँदै
Next articleएनआरएनए अभियन्ताहरुले अपाङ्ग बालबालिकाहरुका लागि बस किन्न १३ लाख घोषणा गरे (भिडियो)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here