डा. विनय श्रेष्ठ, स्विटजरल्याण्ड । आउँदो मे १४ र १५ मा स्विटजरल्याण्डको साँस्कृतिक शहर बासेलमा अन्तर्राष्ट्रिय नेपाली कालाकार समाज (ईनास) को चौंथो युरोपेली नेपाली एकल नृत्य र प्रथम युरोपेली नेपाली एकल गायन प्रतियोगिता हुँदैछ।

ईनास प्रवासमा नेपाली कला संस्कृतिको अभ्यास, जगेर्ना र प्रवर्द्धन हेतु स्थापित संस्था हो। पछिल्ला केही वर्षहरु मै ईनासको विश्वब्यापी सञ्जाल तयार भएको छ।

युरोपमा मात्र १२ देशहरुमा ईनासका राष्ट्रिय समितिहरु गठन भइसकेका छन्। युरोपबाहेक ईनासको सञ्जाल अमेरिका, एसिया र अस्ट्रेलियासम्म फैलिएको छ।

डा. विनय श्रेष्ठ
डा. विनय श्रेष्ठ

ईनासको तेश्रो युरोपेली नेपाली एकल नृत्य प्रतियोगिता जर्मनीको बोखुममा सम्पन्न भएको थियो। सौभाग्य र संयोगवश, सो कार्यक्रममा सहभागी भइ रसस्वादन गर्ने मौका मैले पनि पाएको थिएँ। र ईनासको अर्को साँस्कृतिक महा भेलालाई स्विटजरल्याण्डमा आयोजित गर्ने प्रबन्ध गर्न सकियो।

नेपाली डायास्पोराको साँस्कृतिक पहिचान

नेपाली डायास्पोराको साँस्कृतिक पहिचानको विषय उठान गर्दा सबैभन्दा पहिले साँस्कृतिक पहिचानका वारेमा बिमर्श गर्नु सान्दर्भिक हुन्छ।

समाजशास्त्रीहरुले साँस्कृतिक पहिचानलाई साझा ईतिहास र मूल (root) का व्यक्तिहरुको साँस्कृतिक एकत्वको भावना जसले धरातलिय झिना–मसिना सामजिक भिन्नतालाई निस्प्राण बनाउँछ भनि परिभाषित गरेका छन्।

साँस्कृतिक पहिचानको सारमा साँस्कृतिक एकत्व रहेको हुन्छ। साँस्कृतिक पहिचान भित्रका बहु-आयामिक र बहु-पक्षिय समानताका बाबजुद पनि त्यसैभित्र केहि भिन्नताहरु रहनसक्ने कुरालाई नकार्न भने सकिन्न।

यसको उदाहरणका रुपमा प्रवासी नेपालीहरुको साँस्कृतिक पहिचान र त्यसभित्रका विभिन्न जातजातिका साँस्कृतिक पहिचानलाई लिन सकिन्छ।

साँस्कृतिक पहिचानको एक स्थायी वा स्थिर रुप हुँदैन। व्यक्तिगत र सामाजिक पहिचान भन्दा साँस्कृतिक पहिचान बृहद् र बलवान हुन्छ। समय, परिस्थिति र भूगोलअनुसार साँस्कृतिक पहिचान निरन्तर एक वा अर्को दिशामा विकसित भईरहेको हुन्छ।

प्रवासी नेपालीहरुको साँस्कृतिक पहिचान हाम्रो साझा ईतिहास र मूलसंग प्रत्यक्ष जोडिएको भएता पनि नेपालको साँस्कृतिक पहिचान र प्रवासी नेपालीहरुको पहिचानको केन्द्रीयतामा केहि भिन्नता रहन सक्छ।

प्रवासको नेपाली समाजले आफ्नो साझा ईतिहास, मूल र विगतमा आधारित हुँदै भविष्य निर्देशित साँस्कृतिक पहिचानको निर्माण गरिरहेको प्रतित हुन्छ। प्रवासी नेपालीहरुको साँस्कृतिक पहिचानमा परदेशको रंगको हल्का प्रभाव परेको छ।

पछिल्ला वर्षहरुमा नेपाली कलाकार, कलाकर्मी र स्रष्टाहरु प्रवासमा स्थापित हुने क्रम बढ्दो छ। साथै, प्रवासी नेपाली समाजको दोश्रो पुस्ता प्रवासको नयाँ साँस्कृतिक माटोमा नेपाली कला र संस्कृतिलाई आत्मसात र प्रवर्द्धन गर्न लालयित रहेको देखिन्छ।

यसले अवश्य पनि हाम्रो सांस्कृतिक पहिचानमा नयाँ आयाम थप्दै समयसंगै प्रवासको र नेपाली संस्कृतिबीच एक संमिश्रण श्रृजना गर्नेछ।

नेपाली संघसंस्थाहरुको भूमिका

प्रवासी नेपालीहरुको विश्वब्यापी सञ्जाल गैर-आवासीय नेपाली संघको एक उद्देश्य नेपाली संस्कृतिको विश्वब्यापी प्रवर्द्धन पनि रहेको छ। संघले यसलाई आफ्नो रणनीतिगत लक्ष्यमा नै लिपिबद्ध गरेको छ।

unnamed-26-1024x680

संघले भाषा, संस्कृति र साहित्यको क्षेत्रमा प्रभावकारी ढंगले कार्य गर्न उप-समितिहरु गठन गरेको छ। गैर-आवासीय नेपालीसंगको विश्वब्यापी सञ्जाललाई नेपाली संस्कृतिको प्रयोग, प्रचार-प्रसार, संरक्षण र प्रवर्द्धनमा अझै प्रभावकारी तबरले प्रयोग गर्नु पर्ने आवश्यकता देखिन्छ।

ईनासको युरोपस्तरीय नृत्य प्रतियोगिताहरूले यस क्षेत्रमा नेपाली कला र संस्कृतिको प्रयोग, प्रवर्द्धन र परिमार्जनमा अवश्य पनि महत्वपूर्ण भूमिका खेलेको छ।

गैर-आवासीय नेपाली संघ र ईनास लगायत अन्य बहुसंख्यक नेपाली संघ-संस्थाहरुको प्राथमिक कार्यक्षेत्र नेपाली कला र संस्कृति भएपनि यस क्षेत्रमा अपेक्षित विशेषज्ञता हासिल गर्न भने अझै समय लाग्नेछ।

विश्वब्यापी सञ्जाल र प्रभाव भएका नेपाली संघ-संस्थाहरुको सक्रियताले नेपाली डायास्पोराको साँस्कृतिक पहिचानलाई आकृत गर्न निर्णायक भूमिका खेल्न सक्ने देखिन्छ।

यसका लागि गैर-आवासीय नेपाली संघ, ईनास र अन्य संघ-संस्थाबीच नेपाली भाषा, साहित्य, कला र संस्कृतिको प्रयोग र संवर्द्धनमा विद्यमान समन्वय र सहकार्यलाई हामीले अझै सशक्त र प्रभावकारी बनाउन सक्नु पर्दछ।

ईनासको सक्रियता

ईनासले नेपाली कला र संस्कृतिको प्रयोग र प्रवर्द्धनमा आफ्नो विशेषज्ञतालाई थप परिष्कृत गर्न सके संस्थाको लक्ष्य प्राप्तिमा गुणात्मक एवं परिणात्मक बृद्धि हुने नै छ।

अस्थायीबाट स्थायी बासिन्दा हुने क्रममा, हामीले प्रवासमा हाम्रो साँस्कृतिक पहिचान निर्माण गर्न सकेमा हामी क्षितिजविहिन, रंगविहिन र मूलविहिन हुनु पर्ने छैन। हल्का हावा लाग्दैमा हाम्रो साँस्कृतिक जरोले हामीलाई गन्तव्यहिन उडाउन दिने छैन। र, हाम्रो भावि पुस्ताले जीवनका चुनौतिहरुसँग जुध्न एक भरपर्दो भावनात्मक आड प्राप्त गर्नेछ।

अन्त्यमा, मे १४ र १५ मा स्विटजरल्याण्डको बासेल शहरमा आयोजना हुने अन्तर्राष्ट्रिय नेपाली कालाकार समाज (ईनास) को चौथो युरोपेली नेपाली एकल नृत्य र प्रथम युरोपेली नेपाली एकल गायन प्रतियोगिता भब्य रुपमा सफल बनाउनु हामी सबैको कर्तव्य हो।

जसले गर्दा प्रवासी नेपालीहरुको साँस्कृतिक पहिचानका माध्यमबाट हामीबीच एकता, सहकार्य र समन्वयको अभिवृद्धि गर्न सकियोस्।

-अनलाईन खबर

Previous articleजोहेवको नयाँ भिडियो ‘लालुपाते’ भाइरल बन्दै
Next articleConfusion on the start date of tighter Swiss naturalisation rules

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here