काठमाडौ, २० फागुन। नेपाली कांग्रेसको १३ औं महाधिवेशन आजदेखि काठमाडौमा सुरु हुँदैछ । दिउँसो काठमाडौको खुलामन्चमा कांग्रेस कार्यवाहक सभापति रामचन्द्र पौडेलले १३औं महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ । दिउँसो १ बजे भव्य समारोहबीच महाधिवेसनको उदघाटन गरिनेछ । ‘सुशीलको नेतृत्वमा बनायौं संविधान, समृद्ध राष्ट्र र निर्माण अब हाम्रो अभियान’ भन्ने मूल नारासाथ सुरु हुन लागेको महाधिवेसनले आगामि चार बर्षका लागि नयाँ नीति र नेतृेत्व दिनेछ ।
महाधिवेशनको उद्घाटनसत्रमा कांग्रेसले मोहन वैद्य नेतृत्वको नेकपा–माओवादीसहित व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दललाई निमन्त्रणा गरेको छ । उद्घाटनमा सहभागी हुन विभिन्न देशका प्रतिनिधि काठमाडौं आइसकेका छन् ।
उदघाटनअघि विभिन्न ठाउँबाट साँस्कृतिक झाँकीसहित जुलुस निकालिनेछ । महाधिवेशनले आगामी चार वर्षका लागि नयाँ नेतृत्व चयनका साथै पार्टीले लिने नीति र कार्यक्रमसमेत टुंगो लगाउनेछ ।
फागुन २३ गते नयाँ नेतृत्व चयन गर्दै सम्पन्न हुने महाधिवेशनको बन्दसत्र भोलिदेखि भृकुटीमण्डपमा हुनेछ । नेतृत्वका लागि ८३ पदमा निर्वाचन हुनेछ । संविधान कार्यान्वयन र आर्थिक विकासलाई प्राथमिकतामा राखेर तयार गरेको नीति तथा कार्यक्रम भोलि बन्दसत्रमा पेस हुने जनाइएको छ ।
बन्दसत्रमा महामन्त्री प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलाको प्रतिवेदन, विधान संशोधन प्रस्ताव र कोषाध्यक्षको प्रतिवेदन पेस हुनेछ । बन्दसत्रमा पेस हुने सबै प्रतिवेदन केन्द्रीय समिति बैठकले सर्वसम्मतिले पारित गरिसकेको छ । ३ हजार १ सय ७० महाधिवेशन प्रतिनिधि सहभागी हुने महाधिवेशनमा २ सय ४० निर्वाचन क्षेत्रबाट २ हजार ८ सय ८० सहित १९ देशमा रहेका जनसम्पर्क समिति, भ्रातृ तथा शुभेच्छुक संगठनबाट प्रतिनिधि सहभागी हुनेछन्।

Previous articleमार्च २७ तारिखका दिन पोर्तुगलमा खुल्ला युवा भलिबल प्रतियोगिता हुने
Next articleउत्तर कोरियामाथि सबैभन्दा कडा प्रतिबन्ध

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here