कार्तिक १, २०७२- यस वर्षका मिस नेपालका तीन फाइनलिस्टले आफूले प्रतिनिधित्व गर्ने छुट्टाछुट्टै तीन अन्तर्राष्ट्रिय ब्युटी पेजेन्टमा प्रतिस्पर्धाका लागि तयारी पूरा गरेका छन् । मिस वल्र्डमा भाग लिनका लागि मिस नेपाल इभाना मानन्धर मंसिर ५ मा चीनको सान्या प्रस्थान गर्नेछिन् भने त्यसअघि नै मिस अर्थमा सहभागी हुन मिस नेपाल फस्ट रनरअप दिव्यता वैद्य मंसिर १ मा अस्ट्रियाको भियना र सेकेन्ड रनरअप मेधा कोइराला मिस इन्टरनेसनलका लागि शनिबार नै जापान उड्दै छिन् । मिस इन्टरनेसनलको ग्रान्ड फिनाले कात्तिक १९ मा सम्पन्न हुँदै छ भने मिस अर्थ मंसिर ५ र मिस वल्र्डको ग्रान्ड फिनाले पुस ४ मा हुँदै छ । हिडेन ट्ेरजरले तीनै सुन्दरीको अन्तिम तयारी पूरा भइसकेको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । मिस नेपालका उत्कृष्ट तीनले नै आफ्ना अन्तर्राष्ट्रिय स्पर्धाका लागि झन्डै पाँच महिनादेखि कडा प्रशिक्षण गरेको आयोजक हिडेन ट्रेजरका अध्यक्ष गोपाल सुन्दरलाल कक्षपतीले जनाए । उनले भने, ‘देशमा अहिले विषम परिस्थिति छ । तर पनि हामी मिस नेपालालाई रोक्न सक्दैनौं । प्रतिस्पर्धाका लागि पठाउनु हाम्रो दायित्व हो ।’ मिस नेपाल इभानाले पनि यति बेला भूकम्पको विपत्ति नै सबैभन्दा ठूलो विषय भएको उल्लेख गर्दै आफ्नो मिस वल्र्डमा पनि ब्युटी विथ पर्पसमा यसैलाई महत्त्व दिने उल्लेख गरिन् । ‘भूकम्पले हामीलाई कत्ति दु:ख, पीडा दियो भन्ने संसारलाई थाहा छ । म यसको दीर्घकालीन समाधान के हुन सक्छ भन्ने बारेमा आफ्ना धारणा राख्नेछु,’ इभानाले भूकम्पपछि उपल्लो मुस्ताङ, लोमाङथाङमा महिला र बालबालिकालाई काउन्सिलिङ गर्दै एक साता बिताएकी थिइन् । उनले ग्रामीण क्षेत्रमा भत्किएका घर निर्माणले मात्रै समस्या समाधान नहुने जिकिर गर्दै थपिन्, ‘त्यहाँ म मिस नेपालको रूपमा भन्दा पनि एक महिलाले अर्को महिला, बालबालिकाको सहयोगका लागि पुगेकी थिएँ । ती ठाउँका बासिन्दाका लागि उत्प्रेरणाको खाँचो छ । नयाँ पुस्ताले नेपाललाई पुनर्जागरण गर्न सक्छ । मिस वल्र्डमा पनि म भूकम्पले नेपाल ध्वस्त भएको छैन भन्ने सन्देश दिन चाहन्छु ।’ त्यसैगरी, मिस अर्थका लागि भिड्न तयार दिव्यताले पनि पर्वत र कास्कीका ग्रामीणको भ्रमणका क्रममा होम स्टेलाई प्राथमिकता दिनुपर्ने निचोड निकोलेको बताइन् । उनले भनिन्, ‘यति बेला पर्यटकलाई सहरी क्षेत्रमा बस्न गाह्रो हुन सक्छ । हामी उनीहरूलाई ग्रामीण क्षेत्र भ्रमणको लागि आकर्षित गर्न सक्छौं । त्यसका लागि होम स्टेको अवधारणालाई बढाउनु आवश्यक छ ।’ मिस अर्थमा उनले पुनप्र्रयोगलाई ज्यादा प्राथमिकता दिने गरी ५ मिनेट लामो भिडियो प्रस्तुति दिने जनाइन् । यसका लागि दिव्यताले बायोग्यासका बारेमा समेत अध्ययन गरेको सुनाइन् । मिस इन्टरनेसनलकी प्रतियोगीका रूपमा मेधाले पनि मुस्कान शीर्षकमा भिडियो प्रस्तुति तयार पारेकी छन् । उनले मुस्कान सेवा नेपालका १३ अनाथ बालबालिकालाई नेपाल म्युजिक सेन्टरमा संगीत प्रशिक्षणमार्फत् भूकम्पपछिको मनोवैज्ञानिक त्रास हटाउन र क्षमता अभिवृद्धिका लागि सघाएकी थिइन् । त्यसबाहेक मेधाले झ्याउरे तामाङ सेलो मिक्स डान्स प्रस्तुत गर्ने र एकल गायनको प्रस्तुति दिनेसमेत तयारी पूरा गरेको बताइन्।

-ईकान्तिपुर

Previous articleसुध्रिए मौका, नसुध्रिए सुटआउट: एसएसपी थापा
Next articleओली क्याबिनेटले उपप्रधानमन्त्रीको रकेर्ड तोड्ने संकेत

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here