काठमाडौं–यही असोज १ गते उपत्यकामा प्रदर्शन सुरु भएको बहुप्रतिक्षित चलचित्र ‘वडा नं ६’ले एक हप्ता नबित्दै रु एक करोडमाथिको व्यापार गरेको छ।

हाँस्य टेलिशृङ्खला ‘तितो सत्य’, जिरे खुर्सानी’ र ‘मेरी बास्सै’ समूहका कलाकारको प्रस्तुति रहेको उक्त चलचित्र हाल राजधानीका तीन जिल्लाका २४ ‘चित्र मन्दिर’मा प्रदर्शन भइरहेको छ।
आफ्नो चलचित्र दर्शकले अति रुचाएको बताउँदै कलाकार दीपाश्री निरौलाले भनिन्– ‘चलचित्रले सोचेभन्दा पनि ज्यादा दर्शकको माया पाएको छ, चलेको एक हप्ता नपुगी करोडको व्यापार गर्नु चानचुने कुरा हैन।’
हुन त करिव रु ८० लाखको लगानीमा बनेको यो चलचित्रले रिलिज हुनु अगाडि नै निकै चर्चा बटुलेको थि । उज्वल घिमिरेले निर्देशन गरेको चलचित्रमा दीपाश्रीसँगै दीपकराज गिरी, जितु नेपाल, प्रियन्का कार्की, केदार घिमिरे, सीताराम कट्टेल, सन्दीप क्षेत्री, दयाहाङ राईलगायतका कलाकारको अभिनय छ।
प्रायः टेलिभिजनमार्फत दर्शकको मन जितेका हाँस्य कलाकारको निर्माण र अभिनय भए पनि चलचित्र माओवादी द्वन्द्वका बेलाको मार्मिक कथामा आधारित भएकाले दर्शकको मनमा छाप छोड्न सकेको विश्लेषकको भनाइ छ ।
यो वर्ष ‘रिलिज’ भएका चलचित्र ‘रेशम फिलिली’, ‘होस्टेल रिर्टन्स’, ‘भैरव’ र ‘लव सव’ मध्ये ‘वडा नं ६’ सर्वाधिक सफल हुने अनुमान गरिएको छ। चलचित्र यही असोज १५ गतेदेखि उपत्यका बाहिर प्रदर्शन गरिने निर्माण पक्षले जानकारी दिएको छ। रासस

Previous articleयूरोपका एनआरएन उम्मेदवारहरूबीच अन्तरक्रिया
Next articleथारुलाई उचाल्ने भारतीय दूताबासको ‘माइक्रो म्यानेजमेन्ट’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here