भक्तपुर, भदौ २ गते । गत वैशाख १२, १३ र २९ गतेको भूकम्पमा पूर्णरुपमा घर क्षति भएको विवरण भराएर भूकम्पपीडितको रातो कार्डसहित रु १५ हजार लिने नक्कली पीडितको सङ्ख्या उच्च रहेको पाइएको छ । जिल्ला प्रशासन कार्यालयमा त्यस्ता ६०० व्यक्तिको जानकारी आइसकेको र अन्यको पनि प्रशासनले खोजी गरिरहेको छ । जिल्लामा भूकम्पले एउटा घर भत्किए पनि एकाघरका दुईदेखि चार जनासम्मले रातो कार्डसहित रु १५ हजार लिएको, बस्नका लागि एकभन्दा बढी घर भएका, यहाँ नबसी सहरको घरमा बस्दै आएका, गोठ तथा कुखुराको खोर भत्किएर क्षतिपूर्ति लिएका र घरमा क्षति नै नभए पनि क्षति भएको विवरण भराएर रातो कार्ड र रु १५ हजार लिनेको बिगबिगी रहेको खुलासा भएको हो ।

त्यस्ता व्यक्तिको नामावलीसहित गाउँगाउँबाट उजुरी आउन थालेपछि भक्तपुरमा नक्कली भूकम्पपीडितको खुलासा भएको हो । भक्तपुरका प्रजिअ तोयम रायाले अहिलेसम्म पूर्ण क्षतिको विवरण भराएर रकम लिने ६०० जना रहेको खुलासा भएको बताउँदै उहाँले उनीहरुलाई तत्काल रकम फिर्ता गर्न पत्राचार गरेको बताउनुभयो ।

भक्तपुरमा ६०० भन्दा बढी नक्कली पीडितले रातो कार्ड बनाएर रु १५ हजार लिएको हुनसक्ने भएपछि जिल्लाका छवटै नगरपालिकाले गाउँगाउँमा सरकारको मापदण्ड विपरीत रकम लिनेलाई फिर्ता गर्न सात दिने सार्वजनिक सूचना टाँस गरेको छ । रकम फिर्ता नगर्नेलाई एकसाता पछि कारबाही गर्ने बताउँदै प्रजिअ रायाले केहीले रकम फिर्ता गर्न थालिसकेको बताउनुभयो । अनन्तलिङ्ेश्वर नगरपालिकामा आठ जनाले रकम फिर्ता गरेको र अन्य नगरपालिका तथा जिल्ला प्रशासनमै आएर रकम फिर्ता गर्न थालेका छन् । रासस

Previous articleवायुसेवा निगमका १४८ पदमा २८ हजारको भिडन्त
Next articleनेपाली सेनाले दियो विद्यार्थीलाई राष्ट्रसेवक तालिम

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here