विजय राई, लण्डन । नेपालीहरु विनाशकारी भूकम्पको चपेटामा परेर गाँस न बासको अवस्थामा छन् । असारे वर्षा सुरु भइसक्दा पनि न त भत्केको घर हटाउन सकेका छन् न त ओतको व्यवस्था गर्न सकेका छन् । यस्तो अवस्थामा खाडी र मलेसियामा रहेका नेपालीहरु एकएक रुपैयाँ संकलन गरेर भए पनि आफ्नो मात्र होइन छिमेकी टहरा निर्माणमा जुटेका छन् । तर, यही बेला युरोपमा रहेका केही गैर आवाशीय नेपालीहरु भने फुटबल खेलको विकास र भाइचाराको सम्बन्ध बिस्तार हुने भन्दै स्रोत, साधन र जनशक्ति फुटबल खेलमा लगाउन कस्सिएको छ । 

दोलखाको सिंगटी, र सिन्धुपाल्चोकको तातोपानी क्षेत्रमा पुरिएका नेपालीहरुको शवसम्म निकाल्न सकिएको छैन । सुगम क्षेत्रमा बाहेक दुर्गम बस्तीहरुमा राहत र उद्धारको काम हुन सकेको छैन । यस्तो बेला आफूसँग भएको जनधन विपतमा परेकाहरुका लागि खर्च गरिनु पर्ने हो । तर, ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेजस्तै युरोपमा रहेका  गैर आवासीय नेपालीहरु भने फुटबल खेलमा तन मन धन लगाउन लागिपरेको युरोपमै रहेका नेपालीहरु बताउन थालेका छन् । हुन त नेपालमा समस्या परेको छ भन्दैमा यूरोपमा रहेका नेपालीहरुले पनि शोकाकुल हुनु पर्छ भन्ने होइन तथापि आफ्नै नेपाली दाजुभाइ दिदी बहिनीहरुमाथि परेको यो बिपतको बेला त्यसो नगरेको भए राम्रो हुन्थ्यो कि भन्ने हाम्रो सोच मात्र हो । 

जुन २७ र २८ का दिन हुने भनिएको फुटबल प्रतियोगितामा गैरआवासीय नेपाली संघका कतिपय पूर्व उच्चपदस्थ पदाधिकारी तथा वर्तमान पदाधिकारीहरु समेत सहभागी हुने बताइएको छ । उनीहरु आफ्नै व्यक्तिगत खर्चमा कार्यक्रममा सहभागी हुने भए पनि फुटबल प्रतियोगिताका लागि मात्रै संसारकौ सबैभन्दा महंगो देशको शहरमा ठुलै धनराशी खर्च हुनेमा दुई मत नहौला । यदि सम्भव थियो भने उक्त रकम नेपालमा खर्चिने हो भने कमसेकम बेघरबार भएकाहरु यो वर्षातको मौसममा जस्ताको छानोमुनि मात्र भए पनि बस्न पाउने थिए र फुटबल प्रतियोगिता जस्ता कार्यक्रमहरु त पछि पनि त गर्न सकिन्थ्यो होला । 

गैरआवासीय नेपाली संघले नेपालका भूकम्प पीडितहरुका लागि एक हजार घर निर्माण गर्ने घोषणा गरेको थियो । त्यो प्रक्रियाबारे अहिले एनआरएन मौन देखिएको छ । नेपालीहरु वर्षायाममा ओतविहीन बनेका बेला डेनमार्कको कोपनहेगनमा २१ जुनमा हुने युरोपियन क्षेत्रीय बैठकमा यस विषयमा छलफल हुन सक्ने सम्भावना भए पनि हठात बैठक नै स्थगित गरिएको युरोपबासी नेपालीहरु बताउँछन् । बैठकमा देश पुनःनिर्माणका विषयमा छलफल गरेर रकम जम्मा गर्ने अभियान चलाउन सकिने सम्भावना रहेको र वर्षाअघि नै घरटहरा निर्माणमा जुट्ने वातावरण बनाउन जुट्ने स्थिति रहँदारहँदै बैठक स्थगित गरेर फुटबल प्रतियोगिततिर ध्यान केन्द्रित गरिनु उपयुक्त नभएको युरोपबासी कतिपय नेपालीहरुको भनाइ छ । 

भूकम्पकै कारण भन्दै स्थगित गरिएको आठौ क्षेत्रीय बैठक र अन्तर्राष्ट्रिय महिला सम्मेलनको टुंगो अझै लाग्न सकेको छैन । त्यसका लागि २१ जुनमा बस्ने साईबर मिटिड.ले तय गर्ने बताइएको छ । तर, क्षेत्रीय बैठक नै स्थगित गरेर बसेका युरोपबासी एनआरएनहरु ठूलो जनशक्ति र रकम खर्च गरेर फुटबल खेल्न लाग्नुलाई भने धेरैले ‘काम कुरो एकातिर कुम्लो बोकी ठिमीतिर’ भन्न थालेका छन् । 

यो सबै भूकम्प पीडितको आँशु पुछ्ने बेला हो, गाँस नपाएकालाई गाँस र बास नपाएकालाई बास दिने बेला हो । आपसी मित्रता र भाइचारा विस्तार गर्ने बेला फेरि पनि आउन सक्छ । जीवन रहे खेलकुद मात्र होइन अन्य मनोरञ्जनका उपायहरु अपनाउन सकिन्छ । तर, देश रोइरहेका बेला मित्रता र भाइचाराको कुरा गर्दै स्रोत र साधन खर्चनुलाई ख्यालख्याल मात्र ठान्नु हुन्न । त्यसो त नेपालकै राजनेताहरुले पनि जनता घरले च्यापिएर गुहार लगाइरहेका बेला रंगशालामा फुटबल खेलेर नाटक देखाइसकेका छन् । युरोपजस्तो विकसित क्षेत्रमा बस्ने नेपालीहरुले त अलिकति बुझेको हुनुपर्ने हो । तर, तिनै राजनेताको सिको गर्दै हिड्नुलाई भने नेपालीहरु चन्द्रमामा पुगे पनि सुध्रदैनन् भन्ने पुष्टि गरेको छ । 

त्यसो त नेपालका भूकम्प पीडितलाई देशबाहिर रहेका नेपालीहरुले सहयोग गर्नैपर्छ भन्ने छैन । यो सरकारको जिम्मेवारीको कुरा पनि हो । तैपनि कतै मरौ परेका बेला कतै मनोरञ्जनका कुरा गर्नु अलि अस्वभाविक हुने युरोपबासी नेपालीहरुको भनाइ छ । बरु यति बेला क्षेत्रीय बैठक तत्काल बोलाएर देश पुनःनिर्माणमा युरोपबाट नयाँ अभियान थाल्नुपर्ने गैरआवासीय नेपालीहरु बताउँछन् । 

Previous articleकोलोराडोको बोल्डरमा रक्तदान कार्यक्रम सम्पन्न
Next articleचालकले ठाउँ नचिन्दा सिम्रिकको हेलिकप्टर दुर्घटनाग्रस्त

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here