९ चैत, जनकपुरधाम । जनकपुरको सबैलामा विद्यालय व्यवस्थापनको चुनावलाई लिएर भएको झडपमा मृत्यु हुनेका परिवारजनसँग एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले सोमबार भेट गरेका छन् ।

जनकपुर पुगेका पूर्वप्रधानमन्त्री डा. भट्टराईले घटनास्थलमै गएर मृतकका परिवारसँग भेट गरेका हुन् ।

स्थानीय मदन-आश्रित निमाविको व्यवस्थापनसम्बन्धी विवादमा गोली चल्दा एमाओवादीका रामसेवक राउत र एमाले कार्यकर्ता रामप्रकाश यादवको मृत्यु भएको थियो ।

दुबै मृतकका परिवारलाई भेटेर एमाओवादी नेता डा. भट्टराईले घटनाप्रति दुख व्यक्त गरेका छन् । साथै हत्यारालाई कारवाही गर्न पहल गर्ने डा. भट्टराईले पीडितलाई आश्वस्त पारेका छन् ।

सबैलाबाट जनकपुर फर्केर डा. भट्टराईले सोमबार साँझ प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग घटनाबारे बुझ्न आफू बसेको होटलमा बोलाएका छन् ।

जग्गा विवादमा आफन्त मारिएको स्थानीयको गुनासो

डा. भट्टराईसँग रुदै आफ्नो वेदना सुनाएका मृतकका आफन्तले विद्यालय व्यवस्थापन समितिको चुनावका निहुँमा विवाद भएको भनिए पनि सार्वजनिक जग्गा हडपेको विरोधमा आवाज उठेपछि एमाले नेताले हत्या गरेको गुनासो पोखेका छन् ।

एमाओवादी नेता डा. भट्टराई सोमबार सहिद अजवलाल यादवको स्मृतिमा आयोजित कार्यक्रममा सहभागी हुने जनकपुर पुगेका हुन् । सोमबार उनी जनकपुरमै बास बसेका छन् ।

-अनलाइन खबर

Previous article‘विण्डोज १०’ सवैले निःशुल्क प्रयोग गर्न पाउने
Next articleसंविधानसभाको अर्को बैठक बोलाउन सभाध्यक्ष छलफल गर्दै

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here