लण्डन– कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा पनि जनसंख्याको २० प्रतिशत अर्थात करीब ६० लाख नेपालीलाई पुग्ने गरी खोप उपलब्ध हुने गैरआवासीय नेपाली संघले जनाएको छ।
गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार कोभ्याक्स सुविधामार्फत न्यून आय आएका नेपाल जस्ता मुलुकमा खोपको सहज वितरण गरिने भएकाले नेपालमा पनि ६० लाख मानिसका लागि कोरोनाविरुद्धको खोप उपलब्ध हुनेछ । यद्यपी यसका लागि सबैभन्दा पहिले खोपको सफलता नै आवश्यक भएको समितिका संयोजक डा. सञ्जिव सापकोटाले जानकारी दिनुभयो ।

हाल विश्वभर ५८ वटा खोपे कोरोनाविरुद्धको खोपको क्लिनिकल ट्रायल भइरहेको छ । तीमध्ये १५ वटाको परीक्षण अन्तिम चरणमा छ । अमेरिकी र जर्मन साझेदार कम्पनी फाइजर र बायोएनटेकले निर्माण गरेको खोपलाई भने ५ वटा मुलुकले अनुमति दिइसकेका छन् । सो खोप ९५ प्रतिशत प्रभावकारी रहेको बताइएको छ ।

हालसम्म बेलायत, बहराइन, क्यानडा, अमेरिका र मेक्सिकोले सो खोपको आपतकालिन प्रयोगका लागि अनुमति दिएका हुन् । पहिलो चरणमा उच्च जोखिममा रहेका बिरामी र वृद्धवृद्धालाई सो खोप दिइनेछ । नेपालमा पनि सोही खोप ल्याउन सकिने संकेत सरकारी अधिकारीहरुले गरेका छन् यद्यपी सो विषयमा औपचारिक निर्णय भएको छैन ।

कोभिड –१९ संक्रमणबाट विदेशमा करिब ५० हजार नेपालीहरु प्रभावित

कोरोना भाइरस कोभिड–१९ संक्रमणबाट हालसम्म विदेशमा करिब ५० हजार नेपालीहरु प्रभावित भएका छन् । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार नेपाल बाहेक ४९ देशका ४९ हजार २ सय ५७ जना नेपालीमा कोरोना संक्रमण भएको हो ।
स्वास्थ्य समितिका संयोजक डा सन्जीव सापकोटाका अनुसार हालसम्म विदेशमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ४६ हजार ३८ जना रहेको छ । यो कुल संक्रमितको ९३ प्रतिशत रहेको हो ।

विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३ सय १ पुगेको छ । सापकोटाका अनुसार यो साता साइप्रस, जापान, भारत, रोमानिया, स्पेन, कतार, युएई, र साउदी अरबमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ । हालसम्म नेपालमा मात्र २ लाख ४७ हजार ५ सय ९३ जना कोरोना भाइरसबाट संक्रमित पुगेका छन भने ती मध्ये २ लाख ३४ हजार २ सय ३१ जना कोरोना मुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुने दर ९४ दशमलव ६ प्रतिशत रहेको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको कारणले १ हजार ६ सय ८९ जनाको ज्यान गएको छ ।

Previous articleकोभिड–१९ विरुद्ध खोप जतिसक्दो चाँडो सहज उपलब्ध गराउने तयारी
Next articleनेकपा स्थायी कमिटी बैठक पुस १ गते बस्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here