काठमाडौँ -सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र उत्पन्न सङ्कट समाधानका लागि औपचारिक र अनौपचारिक दुवै ढङ्गबाट छलफल जारी राखिने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको सचिवालय बैठकमा यही मङ्सिर १३ गतेको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको लिखित जवाफ र त्यसअघि गत कात्तिक २८ गतेको बैठकमा अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रस्तुत गर्नुभएको लिखित पत्रका सम्बन्धमा कार्यसूची बनाएर छलफल गर्ने विषयमा विवाद भए पनि त्यसबारे अध्यक्षद्वयका साथै अन्य नेताले बोल्ने क्रम शुरु भएको छ ।    
    
बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले छलफल जारी रहेको र अर्काे बैठक बुधबार अपराह्न १ बजेका लागि पुनः राखिएको जानकारी दिनुभयो । उहाँका अनुसार यसबीचमा नेताहरुबीच अनौपचारिक छलफल र संवादका प्रक्रिया पनि चलिरहनेछन् ।    
 दुवै अध्यक्षका प्रस्तावलाई साझा बनाएर यही मङ्सिर १८ गते हुने स्थायी कमिटी र यही मङ्सिर २५ गते हुने केन्द्रीय कमिटीको बैठकमा लाने वा अलगअलगरुपमा लाने भन्नेबारेमा नेताहरुबीच सहमति जुट्न सकेको छैन । यही मङ्सिर ३ गतेको सचिवालय बैठकले स्थायी कमिटीको बैठक मङ्सिर १८ र केन्द्रीय कमिटीको बैठक मङ्सिर २५ गते बोलाउने निर्णय गरेको थियो ।    
गत भदौ २६ गतेको स्थायी कमिटीको बैठकले सहमतिका साथ शीर्ष नेताहरुको कार्यविभाजन गरी सरकार र पार्टीको कामलाई व्यवस्थित र प्रभावकारी बनाउने तथा आगामी चैतको अन्तिम साता पार्टीको एकता महाधिवेशन आयोजना तय गर्ने निर्णय गरेको थियो । पछिल्ला समय मन्त्रिपरिषद्मा हेरफेर, राजदूुत नियुक्ति, पार्टीको कर्णाली प्रदेशको विवाद, तराईका केही जिल्लाका कार्यकर्ताबीचको दोहोरो झडप, प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विशेष दूत भई नेपाल आएका भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्तकुमार गोयलसँग गरेको भेटवार्ता आदिबारे विवाद उत्पन्न भई अध्यक्षद्वयबीच लिखित आरोप–प्रत्यारोपपत्र सार्वजनिक भएपछि विवादले नयाँ रुप लिएको हो ।  (रासस)   

Previous articleसंघीयतालाई संस्थागत गर्न स्थानीय तहको भूमिका महत्वपूर्ण हुने
Next articleनेपालमा काेराेनासक्रमण निको हुनेको संख्या २ लाख १६ हजार ५सय ९४

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here