काठमाण्डौ- सोमवार १८६ जना नयाँ थपिएसंगै नेपालमा कोरोनाबाट संक्रमण हुनेको संख्या १७ हजार ८४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले ४ हजार २१६ जनाको पीसीआर परिक्षणमा १८६ जनामा संक्रमण पोजेटिभ देखिएपछि संक्रमितको संख्या १७ हजार ८४४ पुगेको हो । देशभर अहिले कोरोनाका ५ हजार ९३६ वटा सक्रिय केस रहेका डा.गौतमले बताउनु भयो ।

डा.गौतमका अनुसार धरानमा गरिएको परिक्षणमा सुनसरीका २, कोशी अस्पतालमा गरिएको परिक्षणमा झापाका १, सुनसरीका ४, इलामका १, विराटनगरमा गरिएको परिक्षणमा धनुषाका २, नारायणी अस्पतालमा गरिएको परिक्षणमा पर्साका ४, बाराका ४६ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परिक्षणमा काठमाडौंका २, सर्लाहीका २३, सोलुखुम्बुका ४, ललितपुरस्थित पाटन अस्पतालमा गरिएको परिक्षणमा ललितपुरका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ । बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा गरिएको परिक्षणमा बाँकेका २, रोल्पाका ४, सल्यानका २, रुकुमपूर्वका ७, दाङका ५ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

यस्तै हुम्लाका १, कालिकोटका १, डडेल्धुरामा गरिएको परिक्षणमा डोटीका ४० जनामा संक्रमण पोजेटिभ देखिएको प्रवक्ता डा.गौतमले बताउनु भयो । उहाँका अनुसार सुदूरपश्चिम प्रदेशको सेती अस्पतालमा गरिएको परिक्षणमा कैलालीका १ जनामा संक्रमण पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बितेको २४ घन्टामा १७३ जना निको भएर घर फर्किएका बताएको छ । यो संगै नेपालका कोरोनालाई जितेर अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ८६८ पुगेको छ । डा.गौतमका अनुसार यो प्रतिशतमा ६६ दशमलव ५१ प्रतिशत हो ।

मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म ३ लाख १९ हजार ८७२ जनाको पीसीआर परिक्षण भएको छ । ३ लाख २ हजार २८ जनाको परिक्षण नतिजा नेगेटिभ देखिएको छ ।

यस्तै,देशभर २२ हजार २२८ जना क्वारेन्टाईनमा रहेका छन् भने ५ हजार ९३६ जना आईसोलेसनमा रहेका छन् । अहिलेसम्म निको हुनेको संख्या ११ हजार ८६८ पुगेको छ भने ४० जनाले ज्यान गुमाएका छन् ।

Previous articleयसपाली गाइजात्रा महोत्सव तथा तायमचा नृत्य प्रतियोगिता नहुने
Next articleआगामी २४ घन्टामा पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here