पोखरा – नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) गण्डकीले विश्व खेलकुद पत्रकार दिवसलाई कोभिड–१९ प्रभावबीच खेलकुद र पत्रकारिता विषयक अन्तक्र्रिया गरी मनाएको छ ।

पोखरामा बिहीबार आयोजित समारोहमा प्रमुख अतिथि गण्डकी प्रदेश विधायन समिति सभापति सांसद मोहन रेग्मीले राष्ट्रिय खेलकुद ऐन, २०७७ लागू भएसँगै खेलकुदमा नयाँ आयाम थपिएको बताए । उनले प्रदेशस्तरमा पनि विभिन्न ऐन निर्माण गर्नुपर्ने हुँदा मञ्चको सुझावलाई पनि मनन गरिने उल्लेख गरे । उनले खेलकुदको विकासमा खेलकुद पत्रकारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै सञ्चारमाध्यमले पनि खेल र खेलाडीको प्रोत्साहनमा टेवा पु¥याएको बताए । विगतमा केन्द्रीय शासन प्रणाली रहेको स्मरण गर्दै तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय विकास समिति पूर्व अध्यक्ष समेत रहेका सांसद रेग्मीले आधारभूत तहदेखि नै खेलकुदको विकास अपरिहार्य भएको बताए ।

नेपाल ओलम्पिक कमिटीका केन्द्रीय उपाध्यक्ष तेज गुरुङले ओलम्पिक कमिटीको सिद्धान्त एक्सपर्ट, रेस्पेक्ट र फ्रेण्डसीप रहेको उल्लेख गर्दै खेलकुदलाई शिक्षासँग जोडेर प्राज्ञीक क्षेत्रमा बहसको जरुरी औल्याए । उनले जिल्ला तथा प्रदेशका गतिविधिसँगै केन्द्रीयस्तरमा स्थापित हुने पहल गर्नुपर्ने सुझाव दिए ।

राष्ट्रिय खेलकुद परिषद सदस्य राजेश गुरुङले पोखरामा १३ औं साग दुविधाबीच आफूहरुले रातदिन काम गरेर सम्भव भएको स्मरण गर्दै कोभिड–१९ को नकारात्मक प्रभावमा पनि विस्तारै खेल गतिविधि निरन्तरता दिनुपर्नेमा जोड दिए ।

मञ्चका संस्थापक अध्यक्ष एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य रामकृष्ण ज्ञवालीले अबको दिनमा मिडिया हाउस र पत्रकार दुवै चल्ने वातावरण मिलाउनुपर्ने बताए । उनले मिडिया हाउस र पत्रकार भनेको सागरमा तैरिरहेको डुंगा रहेकोमा कोरोना प्रभावले डुंगामा प्वाल परेको अवस्था हो भने ।

पत्रकार महासंघ गण्डकी प्रदेश अध्यक्ष एवं मञ्च सल्लाहकार त्रिभुवन पौडेलले अहिलेको अवस्थामा पत्रकारलाई सेवासुविधा रोक्ने र सेवाबाट वञ्चित गर्ने क्रियाकलापविरुद्ध ताला लगाउनुपर्ने बताए ।

नेपाल प्रेस युनियन कास्की अध्यक्ष नवीन सिग्देलले कोरोना भाइरसका कारण सिंगो पत्रकारिता क्षेत्र नराम्ररी गुज्रिरहेको औल्याए । उनले संचारमाध्यमले पनि पत्रकारको सेवासुविधा कटौती गर्न नहुने बताए ।

प्रेस संगठन कास्कीका सहसंयोजक सन्देश श्रेष्ठले विस्तारै खेलकुदका गतिविधि संचालन गर्नुपर्नेमा जोड दिए ।

क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी र जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले मञ्चले विषम परिस्थितिबीच पनि अन्तक्र्रिया गरेकोमा धन्यवाद दिँदै आगामी दिनमा कसरी अघि बढ्नेबारे घनीभूति छलफल जरुरी रहेको बताए ।

खेलकुद पत्रकार मञ्च गण्डकी महासचिव विजय नेपालले स्वागत मन्तव्य व्यक्त गर्दै विश्व खेलकुद पत्रकार दिवसको सन्दर्भ र मञ्च गतिविधिबारे जानकारी दिए ।

कार्यक्रममा अध्यक्षको आसनबाट मञ्च अध्यक्ष एकराज गिरीले कोरोना कारण यस वर्ष स्पोट्र्स अवार्ड प्रभावित भए पनि अब हुने अवार्ड कार्यक्रमलाई संघ, प्रदेश र स्थानीय तहले सकारात्मक ढंगले हेरी सहयोग गरेको जानकारी दिए ।

कार्यक्रमको संचालन मञ्च सचिव राजाराम पौडेलले गरेका थिए । सामाजिक दूरी अपनाइएको सो कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधि एवं पत्रकारको उपस्थिति थियो ।

विश्व खेलकुद पत्रकार दिवस हरेक वर्ष २ जुलाईमा मनाउने गरिन्छ । इन्टरनेशनल स्पोर्टस् प्रेस एशोसिएसन स्थापना दिनलाई मध्यनजर गरी सन् १९९४ देखि यो दिवस मनाउन थालिएको हो ।

Previous articleनेपालमा काेराेना संक्रमितको संख्या १४ हजार ५ सय १९ पुग्यो
Next articleचलचित्र ‘फेम’ रिलिज, निर्माण पक्ष उत्साहित (चलचित्र सहित)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here