पोखरा – विदेशबाट नेपाल फर्कने नागरिकहरुलाई क्वारेन्टिनमा राख्न होटलहरुको प्रयोग गर्नुपूर्व गंभीरता अपनाउनुपर्ने भन्दै पश्चिमाञ्चल होटल संघ पोखराले सम्बन्धित पक्षको ध्यानाकार्षण गराएको छ ।

दुई दर्जन होटलको नाम सहित विभिन्न नौ बुँदामा समेटिएको ध्यानाकर्षण पत्र संघका तर्फबाट कास्कीका प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकाल र पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीलाई सोमबार बुझाइएको संघका अध्यक्ष विकल तुलाचनले जानकारी दिए । उक्त पत्रमा होटलमा पाहुना आगमन हुनु पूर्व स्वास्थ्य परीक्षण गर्नु पर्ने र कोरोना नेगेटिभ देखिएका व्यक्तीलाई मात्र होटलमा राख्ने व्यवस्था गरिनु पर्ने माग गरिएको छ । होटलमा रहने सम्पूर्ण व्यक्तिहरुको नियमित स्वास्थ्य जाँच गरिनु पर्ने उल्लेख गरिएको छ ।

होटलहरुको नामावली संघबाट प्रदान गरिएको भएता पनि आवश्यक मापदण्ड अपनाई वर्गिकरण गरी होटलहरुको छनौट गर्नु पर्नेछ पनि जनाइएको छ । यसैगरी क्वारेन्टिनमा प्रयोग हुने होटलहरुमा स्थानीय बसिन्दाबाट अवरोध आउन सक्ने हुँदा उक्त अवरोधलाई सौहार्दपूर्ण वातावरणमा सरकारद्वारा समाधान गरिनु पर्ने र स्थानीय स्तरमा फैलन सक्ने संक्रमणको जिम्मा सरकारले लिनुपर्ने विषय पनि समेटिएको छ ।

त्यस्तै धेरैजसो होटलहरु बन्द रहेका र कर्मचारीहरु पनि विदामा रहेको हुँदा पाहुना आउनु भन्दा कम्तीमा पनि ४ दिन अगावै संघमा अथवा होटल प्रतिष्ठानमा जानकारी गराई दिनु पर्ने तथा होटल क्वारेन्टिनका लागि उपलब्ध गराउँदा अपनाउनुपर्ने कार्यविधिमा सुरक्षा, स्वास्थ्य लगायतको स्पष्टता र होटलका कर्मचारीहरुलाई तालिमको व्यवस्था गरिनुपर्ने माग पनि गरिएको छ ।

होटलमा रहेका जम्मा कोठाको ८० प्रतिशत पाहुना राखेपछी मात्रै अन्य होटलमा राख्ने व्यवस्था हुनुपर्ने साथै भुक्तानीको अवस्थाको बारेमा अग्रिम जानकारी हुनु पर्ने पनि संघले जनाएको छ । होटल प्रतिष्ठानमा आवश्यक पर्ने स्वाथ्य सामग्रीहरु सर्वसुलभ रुपमा उपलब्ध गराईनु पर्ने र होटलमा रहने पाहुनाहरु अनुसाशित र सुरक्षित तवरमा रहनका लागि कोठा भन्दा बाहीर निस्कन नदिई सुरक्षाको व्यवस्थाको जिम्मा लिइनु पर्ने भन्दै संघले ध्यानाकर्षण गराएको छ ।

होटललाई क्वारेन्टिन बनाई सके पश्चात् होटललाई विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार पुर्ण रुपमा निर्मलिकरण गरी भविष्यमा सहज रुपले व्यवसाय संचालन गर्न स्वास्थ्य, महानगर वा पर्यटन विभागबाट निर्मलिकरणको प्रमाणिकरण स्टिकर टाँस गरिनु पर्ने माग पनि संघको छ । होटललाई क्वारेन्टिनको रुपमा प्रयोग गर्दा कोठा दर प्रति व्यक्तिका लागि दुई हजार रुपैयाँदेखि १२ हजार रुपैयाँ र दुई जनाका लागि तीन हजार देखि १४ हजार रुपैयाँ प्रस्तावित गरिएको छ ।

विश्वव्यापी रुपमा देखापरेको कोरोना रोगको संक्रमणका कारण हाल विदेशी मुलुक यूरोप, अष्ट्रेलिया, अमेरिका जापान, चीन मलेसिया, कोरिया, क्यानाडा, खाडी मुलुक, सार्क राष्ट्र र नेपालका विभिन्न स्थानबाट आउने व्यक्तिहरु आफ्नो घर वा डेरामा जान सुरक्षित नरहेको भन्दै होटलहरुलाई क्वारेन्टिनको रुपमा प्रयोग गर्न लागिएको हो ।

Previous articleनेपालमा संक्रमितको संख्या ३ हजार ७ सय ६२ पुग्यो
Next articleकोरोनाबाट मृत्यु भएकाकाे अत्येष्टि गर्ने व्यवस्था मिलाउन काँग्रेसकाे माग

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here