काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापीरुपमा फैलिएको कोभिड–१९ र त्यसविरुद्ध नेपाल सरकारले चालेका कदम र सचेतनाबारे आज साँझ राष्ट्रका नाममा सम्बोधन गर्दै यही चैत ९ गतेदेखि २१ गतेसम्म सार्वजनिक र निजी क्षेत्रबाट प्रदान गरिने अत्यावश्यक बाहेकका सबै सेवा बन्दको घोषणा गर्नुभएको छ ।

यस अवधिमा चालू हुने र बन्द हुने सेवाबारे नेपाल राजपत्रमा सूचना जारी हुने प्रधानमन्त्री ओलीले बताउनुभयो । प्रधानमन्त्री ओलीले यही चैत १० गतेदेखि केही अवधिका लागि लामो दूरीमा चल्ने सबै यात्रुबाहक सवारीसाधन बन्द गरिने पनि जनाउनुभयो । सो अवधिमा अत्यावश्यक अवस्थामा बाहेक घरबाट बाहिर ननिस्कन, भीडभाडमा नजान, सरसफाइमा ध्यान दिन, अनावश्यकरुपमा खाद्यान्नको सञ्चित नगर्न, चिकित्सकको सल्लाह लिन र आतङ्कित नहुन पनि आह्वान गर्नुभयो । बजारमा कृत्रिम अभाव हुन नदिन र भएको पाइएमा कडा कारवाही गरिने स्पष्ट पार्नुभयो ।

प्रधानमन्त्री निवास बालुवाटारबाट सम्बोधन गर्दै उहाँले यही चैत ९ गतेदेखि १८ गतेसम्म हवाई मार्गबाट नेपाल आगमनमा रोक लगाइने पनि उल्लेख गर्नुभयो । सबै सीमा नाकाबाट आवागमन गर्ने यात्रुको अनिवार्य स्वास्थ्य जाँच गरिने, देशभर स्वास्थ्य सेवा प्रभावकारी बनाइने भएकाले उच्च मनोबलका साथ कोरोना भाइरसलाई परास्त गर्न आह्वान गर्नुभयो ।

प्रधानमन्त्री ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) को विशेष विपद् कोषका लागि नेपालका तर्फबाट रु १० करोड उपलब्ध गराउने पनि घोषणा गर्नुभयो । गत चैत २१ गते त्रिभुवन विश्वविद्यालयमा मिर्गाैला प्रत्यारोपण गरी चैत ३० गते निवास फर्कनुभएका प्रधानमन्त्री ओलीले स्वास्थ्य लाभको कामना गर्दा आफूलाई आत्मबल भएको भनी उल्लेख गरिएको थाहा पाएकाले त्यस्तै आत्मबल बनाउन पनि आग्रह गर्नुभयो । रासस

Previous articleकाेराेना सर्तकता : त्रिविको परीक्षा स्थगित
Next articleत्रिभुवन विमानस्थलको सरसफाइ अन्तर्राष्ट्रिय मापदण्डको हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here