पोखरा -सप्तरंगी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा हुने सुमन श्रापित एकल सांगीतिक साँझ–२०७६ तयारी पूरा भएको छ ।
प्रतिष्ठानले पोखरामा मंगलबार पत्रकार सम्मेलन गरी कार्यक्रम तयारी पूरा भएको जनाएको हो । पोखरा उद्योग वाणिज्य संघको सभाहलमा फागुन ३० गते शुक्रबार दिउँसो २ बजे सुमन श्रापित एकल साँझ हुँदैछ ।
प्रतिष्ठान संस्थापक अध्यक्ष एवं मूल आयोजक समिति संयोजक नवराज बरालले प्रतिष्ठानले विविध सांस्कृतिक गतिविधि संचालन गर्नेक्रममा यसपालि एकल साँझमा साहित्य, संगीत र पत्रकारितामा क्रियाशील स्रष्टा सुमनलाई उभ्याउन लागेको जानकारी दिए । कार्यक्रमबाट संकलित रकम कलाकार उपचार सहयोगमा खर्च गरिने उनले बताए ।
प्रतिष्ठान महासचिव मनकुमार श्रेष्ठले सांगीतिक स्वादका अलावा विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणविरुद्ध सो कार्यक्रममा सचेतनासमेत गराइने बताए ।
स्रष्टा सुमन श्रापितले सांगीतिक उकाली चढ्नेक्रममा आफूलाई सो स्थान दिएको प्रतिष्ठानप्रति आभार व्यक्त गर्दै कार्यक्रम सफल पार्न सम्पूर्णमा सहयोगको अपील गरे ।
एकल साँझका मुख्य प्रस्तोता संगीतकर्मी बीबी अनुरागीले आफूहरुले ५ दिनदेखि पोखरामै रहेर कार्यक्रमको रिसर्हल जारी राखेको जानकारी दिए । आफ्ना अनन्य मित्र सुमनको कार्यक्रम सफल पार्न आफूहरु लागिपरेको उनको भनाइ छ ।
प्रतिष्ठान अध्यक्ष पद्मराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मूल आयोजक समिति संयोजक नवराज बराल, कार्यक्रममाथि प्रकाश प्रचार उपसमिति सहसंयोजक विजय नेपाल र संचालन प्रचार संयोजक राजाराम पौडेलले गरेका थिए ।
उनको एकल साँझमा बीबी अनुरागीसहित स्मृति शाही, अर्जुन सुनाम, सुनिता दुलाल, जीवन परियार, तुलसी छेत्री, इन्दु बानियाँ, कल्पना गौतम, सूचना गैरे, रुपेश भण्डारी, योगेश गौतमलगायतले सुमनका चर्चित डेढ दर्जन गीत पस्किने जनाइएको छ । कार्यक्रममा ८ लाख ८५ हजार रुपैयाँ खर्च लाग्ने आयोजकको अनुमान छ । प्रतिष्ठानले यसअघि हरिदेवी कोइराला, पद्यराज ढकाल, दुर्गाबहादुर शाह बाबा, खिम गुरुङ प्हाएआलीको एकल साँझ सम्पन्न गरिसकेको छ ।
यसपालिको कार्यक्रमका लागि विभिन्न ९ वटा उपसमिति गठन गरिएको मूल आयोजक समिति सदस्य असफल गौतमले बताए ।
राजधानीबाहिर रहेर सबैभन्दा बढी गीत रेकर्ड गराउने सुमन बाग्लुङ नगरपालिका–९, तित्याङका हुन् । उनी लामो समयदेखि पोखरामा रहेर सांगीतिक क्षेत्रमा रमाइरहेका छन् ।
बीबी अनुरागी सङ्गीत घराना काठमाडौं अध्यक्ष, अन्तर्राष्ट्रिय नेपाली गीतसङ्गीत मञ्च महासचिव, डागर स्मृति प्रतिष्ठान सचिव, जरोटुप्पो संरक्षण साहित्य समाज, सप्तरङ्गी सांस्कृतिक प्रतिष्ठान लगायत संघसंस्थामा आवद्ध उनी हालसम्म दर्जनौं पुरस्कार तथा सम्मानबाट सम्मानित छन् । २०७४ मा वर्ष गीत पुस्तक पुरस्कारबाट सम्मानित उनले आधा दर्जन फिल्ममा गीत लेखेका छन् भने थुप्रै एल्बम एवं पुस्तक प्रकाशित गरेका छन् ।

Previous articleटीभीएस अपाचे पाँचौं पोखरा स्पोर्टस् अवार्ड, विभिन्न ११ उपसमिति गठन
Next articleआहा रारा गोल्ड कपको उपाधिको लागि मनाङ र पुलिस भिड्ने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here