पोखरा- पोखरा म्याराथनको उपाधि जापानका ताकानासी योसुकेले जितेकाछन्। एक सय ४ जना धावकहरुलाई पछि पार्दै ताकानासीले ४२ किलोमिटर दौड २ घण्टा २६ मिनेट ५१ सेकेण्डमा पार गर्दै उपाधि सहित नगद दुई लाख पुरस्कार हात पार्न सफल भएका हुन्।

जापानका ताकानासी भन्दा एक मिनेट ५७ सेकेण्ड ढिलो उक्त दुरी पार गरेका नेपाली धावक किरणसिंह वोगटी दोश्रो हुन सफल भए । केही महिना अघि साउथ एसियन गेम्समा नेपाललाई स्वर्ण पदक दिलाएका वोगटीले २ घण्टा २८ मिनेट ८ सेकेण्डमा दुरी पार गरी नगद एक लाख पुरस्कार हात पार्न सफल भए । करिब ४० किलोटिरसम्म अग्रता कायम गरेका वोगटी पछिल्लो करिब दुई किलोमिटर दौडमा जापानका ताकानासीसंग पछि परेका हुन । म्याराथन दौडमा एक सय ५ जना सहभागि भएको भूतपूर्व खेलाडी मञ्च नेपालका महासचिव खेमबहादुर गुरुङले बताए । गण्डकी प्रदेशका अनिस थापा मगर तेश्रो भए । उनले निर्धारित दुरी २ घण्टा २९ मिनेटमा पार गरे भने एपिएफका गणेशसिंह ठकुरीले उक्त दुरी २ घण्टा ४१ मिनेट ६ सेकेण्डमा पार गर्दै चौथो स्थान हासिल गरेका थिए । तेश्रो भएका मगरले ७५ हजार र शान्त्वना भएका ठकुरीले १५ हजार पुरस्कार प्राप्त गरे ।

नेपालमा सहभागि भई पहिलो पटक म्याराथनको उपाधि हात पार्दा आफू निकै हर्सित भएको ताकानासीले बताए । पोखरासंग भगिनी सम्वन्ध रहेको जापानको कोमागाने शहरबाट प्रतिनिधित्व गर्दै २३ बर्षीय ताकानासीले उक्त उपाधि हात पारेका हुन्। साउथ एसियन गेम्समा सहभागि भएको ३ महिना पुरा नहुदै पुनः म्याराथनमा सहभागि भएको हुदा उपविजेतामा सिमित हुनु परेको एपिएफका वोगटीले जनाए ।

१० किलोमिटर सडक दौडमा स्याङजाका पुर्ण बहादुर कार्की प्रथम भएकाछन्। उनले निर्धारित दुरी ४० मिनेट ४२ सेकेण्डमा पार गर्दै प्रथम भएका हुन्। मोरङका याङदेव राई दोश्रो र पर्वतका आसिस कुवंर तेश्रो भए । राईले निर्धारित दुरी ४१ मिनेट ३१ सेकेण्डमा र कुवंरले ४१ मिनेट ४० सेकेण्डमा पार गरेका हुन्।

१० किलोमिटर दौड प्रतियोगितामा महिला तर्फ धरानकी इन्द्रकला नेम्वाङ प्रथम भएकीछन्। उनले निर्धारित दुरी ५१ मिनेट २० सेकेण्डमा पार गरेकी हुन्। सोलुकी अनिता राई दोश्रो र विदेशी धावक अमेरीकाकी विण्डी तेश्रो भईन्। राईले ५३ मिनेट २७ सेकेण्डमा उक्त दुरी पार गर्दा विण्डिले भने ५४ मिनेट ४७ सेकेण्डमा पार गरेकी हुन्। ७३ बर्षका टंक बहादुर श्रेष्ठले १० किलोमिटर सडक दौड पुरा गरेका थिए ।

५ किलोमिटर छात्र सडक दौडमा कुमुदिनी होम्सका विनोद गुरुङ प्रथम भएकाछन्। उनले निर्धारित दुरी १७ मिनेट ५३ सेकेण्डमा पार गरेका हुन्। उक्त दुरी १८ मिनेट ३७ सेकेण्डमा पार गर्दै माछापुच्छ«े गाउँपालिकाको ज्ञान ज्योति माविका विवेक भुजेल दोश्रो भए भने न्यू लाइट बोर्डिङ स्कुलका प्रदीप भुजेल तेश्रो भए । उनले १९ मिनेट ४० सेकेण्डमा उक्त दुरी पार गरेका हुन्।

त्यसै गरी ५ किलोमिटर छात्रा तर्फको दौडमा घम्पुसकी उदय माविकी विनु विक प्रथम भएकीछन्। उनले २३ मिनेट ६० सेकेण्डमा उक्त दुरी पार गरेकी थिइन्। उक्त दुरी २५ मिनेट ३० सेकेण्डमा पार गर्दै प्रतिक्षा सुवेदी दोश्रो भईन भने २६ मिनेट ३१ सेकेण्डमा उक्त दुरी पार गर्दै माधुरी देवि कुर्मी तेश्रो भइन्। महिला र पुरुष दुवैतर्फका १० किलो मिटर दौडका विजेताले १५ हजार रुपैयाँ, ५ किलोमिटर दौड छात्र र छात्राका विजेताले समान १० हजार, दृष्टी विहिन पुरुष महिला विजेताले ५ हजार, ह्विल चियरका विजेताले ५ हजार रुपैयाँ प्राप्त गरेकाछन्।

ह्विल चियर प्रतियोगिता पुरुष तर्फ सुरेस गौली प्रथम भएकाछन । त्यसै गरी भरत अधिकारी दोश्रो र खुमबहादुर पाण्डे तेश्रो भए । महिला ह्विल चियर प्रतियोगितामा पुनम विक प्रथम, धना मगर दोश्रो र लक्ष्मी सुनार तेश्रो भए । दृष्टी विहिनको एक सय मिटर दौडमा पुरुष तर्फ प्रमोद दाहाल प्रथम, आसिस खड्की दोश्रो र प्रेम क्षेत्री तेश्रो भए भने महिला तर्फ विनित सुनार प्रथम, सृजना परियार दोश्रो र सुक माया विक तेश्रो भए ।

यसपालीको पोखरा म्याराथनको अवसरमा करिब ७० भन्दा बढीको मेडिकल सेवा प्रदान गरिएको मेडिकल संयोजक सम्मर बहादुर श्रेष्ठले बताए । नियमित अभ्यास नहुदा धेरै बिद्यार्थीहरुमा केही समस्या देखिएको डा.खड्कसिंह गुरुङले बताए ।

१४ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सफल पार्न १२ देशका २१ जना विदेशी धावकहरु सहभागि भएको मञ्चका अध्यक्ष तेज बहादुर गुरुङले बताए । टोलीको नेतृत्व युनेस्कोका पूर्व अध्यक्ष डेभिडसन हेप्वर्नले गरेको उनले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बी सुब्बा गुरुङले शुभारम्भ गरेको उक्त प्रतियोगितामा ओलम्पियन बैकुण्ठ मानन्धरले विश्व शान्तिको कामना सहित टर्च लाइट लियर दौडिएका थिए । मुख्यमन्त्री गुरुङ, प्रदेशका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्साल, प्रदेश सांसद राजिव पहारी, पोखराका व्यवसायी असोक पालिखेले लगायतले ५ किलोमिटर दौड पुरा गरेका थिए ।

विजयी खेलाडीहरुलाई लक्ष्मी हाउसका अध्यक्ष गणेश बहादुर श्रेष्ठ, पोखरेली मञ्च युकेका अध्यक्ष मान प्रसाद गुरुङ, संयोजक मञ्जु गुरुङ, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठ, लगायतले पुरस्कार वितरण गरेका थिए । कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

विभिन्न दौड सहित रन फर फनमा पोखरा महानगरका मेयर मानबहादुर जिसी, गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ सहितका विभिन्न व्यत्तिहरु दौडमा सहभागि भएका थिए । धावकहरुलाई पोखरेलीहरुले विभिन्न ठाउँमा स्वागत गरेका थिए । उक्त प्रतियोगितामा प्रतिष्ठित औधोगिक प्रतिष्ठान लक्ष्मी गु्रप अन्तर्गत सुजल डेरीको उत्पादन सफल दुधले मुख्य प्रायोजन गरेको छ ।

Previous articleसमितिको प्रतिवेदनअनुसार ललिता निवास प्रकरणको कारवाही : प्रधानमन्त्री
Next articleमहिला शसत्तिकरण सम्बन्धी कार्यशाला सम्पन्न

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here