दमौली- नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेस सुध्रिएर अगाडि बढ्नुको विकल्प नरहेको बताउनुभएको छ । नेपाली काँग्रेस ब्यासनगर समितिको आज दमौलीमा आयोजित नगर सम्मेलनको उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले पार्टीलाई जनताको भरोसाको केन्द्र बनाउन पहिला आफै सुध्रिनुपर्नेमा जोड दिनुभयो ।

विपक्षी पार्टीप्रति जनताको भरोसा घट्दै गइरहेको अवस्थामा काँग्रेस जनताको भरोसाको केन्द्रविन्दु बन्न सक्नुपर्ने वरिष्ठ नेता पौडेलको भनाइ थियो । “काँग्रेस सुध्रिए मात्रै लोकतन्त्र विरोधीसँग लड्न सक्छौ”, वरिष्ठ नेता पौडेलले भन्नुभयो, “नसुध्रिए झन् कमजोर अवस्थामा पुग्छौ ।”

वरिष्ठ नेता पौडेलले नेपालको राजनीतिलाई सम्मानित बनाउन वैचारिक बहस शुरु गर्नुपर्ने बेला आएको बताउनुभयो । काँग्रेसको सिद्धान्तले मात्रै मुलुकको समृद्धि सम्भव रहेको दाबी गर्नुहुँदै वरिष्ठ नेता पौडेले राजनीतिलाई शुद्धिकरण गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो । वरिष्ठ नेता पौडेलले नेता र पार्टी सिध्याउने षड्यन्त्र भइरहेको चर्चा गर्दै त्यसतर्फ पार्टीका कार्यकर्ता सचेत हुनुपर्नेमा जोड दिनुभयो ।
नेता पौडेलले भन्नुभयो, “वर्तमान सरकार राज्य व्यवस्थालाई कम्युनिष्ट दर्शनमा ढाल्ने प्रयास गर्दैछ ।” नेता पौडेलले नेपालमा कार्यकारी राष्ट्रपतीय शासन व्यवस्था लागू गर्ने प्रयास भइरहेको समेत चर्चा गर्नुभयो । नेपाल विद्यार्थी सङ्घलाई अलपत्र पार्ने काम भएपछि पार्टीको विधानको धारा ४२ बमोजिम सङ्घमा पदाधिकारी चयन गरिएको नेता पौडेलले स्पष्ट पार्नुभयो ।

काँग्रेसका केन्द्रीय सदस्य शङ्कर भण्डारीले पार्टी विधि र विधान विपरीत चल्न थालेकोमा आपत्ति जनाउनुभयो । भण्डारीले व्यक्तिगत फाइदाका लागि पार्टीभित्र झगडा हुने गरेको आरोप लगाउँदै पार्टीलाई एकढिक्का बनाएर लैजानुपर्नेमा जोड दिनुभयो । अर्का केन्द्रीय सदस्य गोविन्द भट्टराईले पार्टीको आन्तरिक कलह छाडेर संविधानको रक्षाका लागि लड्नुपर्ने बेला आएको बताउनुभयो । उहाँले विधानसम्मत एकता भए मात्रै पार्टीमा एकता सम्भव रहेको बताउँदै भागबण्डाको एकताले गुटबन्दी अन्त्य गर्न नसक्ने ठोकुवा गर्नुभयो ।

नगर सभापति शान्तिरमण वाग्लेको अध्यक्षतामा सम्पन्न सम्मेलनमा पार्टीका जिल्ला सभापति बैकुण्ठ न्यौपाने, पूर्व सभापति धु्रव वाग्ले, रघुनाथ पौडेल, प्रदेशसभा सदस्य डोबाटे विक, सरिता गुरुङलगायतले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने अहिलेको मुख्य आवश्यकता रहेकोमा जोड दिनुभयो ।

Previous articleपोखरा थिएटर तेस्रो वर्षमा प्रवेश, फागुन ९ गतेबाट ‘यो कस्तो महाभारत’ मञ्चन हुने
Next articleसमितिको प्रतिवेदनअनुसार ललिता निवास प्रकरणको कारवाही : प्रधानमन्त्री

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here