पोखरा- विभिन्न विधामा कलम चलाउँदैआएका अलौकिक कवि देशभक्तसिंह कुँवरको पछिल्लो कृति सिजोसङ्ग्रह ‘तमन्ना’ लोकार्पण भएको छ ।
मुमताज मल्टि मिडिया प्रालिको आयोजनामा पोखरामा शनिबार आयोजित समारोहमा गायिका बाबा राणाले सो कृतिको लोकार्पण गरिन् । सो अवसरमा कुँवरद्वारा तीन साताअघि प्रकाशित ‘सामना’ सिजो सङ्ग्रहको दोस्रो संस्करणसमेत सार्वजनिक गरियो । २०७४ मंसिर १६ यता उनले लगातार कृति प्रकाशित गर्दैआएका छन् । ‘तमन्ना’ उनको आठौं कृति हो । उनले गजलसंग्रह ‘लभ स्टेशन’ सहित हरेक महिनाजसो क्रमशः मुक्तकसंग्रह ‘सेतो संसार’, हाइकुसंग्रह ‘अमृतप्रेम’, चोकासंग्रह ‘राजमहल’, सेदोकासंग्रह ‘नेपाली माया’, ताङ्कासंग्रह ‘एक नम्बर’ र सिजोसंग्रह ‘सामना’ पाठकमाझ ल्याएका छन् ।
सो अवसरमा संस्थाले सप्तरङ्गी स्रष्टा सम्मानअन्तर्गत ७ जना स्रष्टा उपाधिसहित अवार्ड प्रदान ग¥यो । सम्मानित हुनेमा ब्रह्माकुमारी परिणिता (उत्कृष्ट आध्यात्मिक व्यक्तित्व अवार्ड), स्वरसुन्दरी देविका बन्दना (सूपर भर्सटाइल अवार्ड), विश्व मैत्री भाषाका संचालक यम जोशी (उत्कृष्ट समाजसेवी एवं शिक्षासेवी अवार्ड), लोकेन्द्रकुमार राई (समाजसेवी एवं व्यवसायी अवार्ड), गायिका स्वरुपा रसाइली (भर्सटाइल गायिका अवार्ड), विष्णु कार्की (उत्कृष्ट गीतकार अवार्ड) र मीरा कार्की (उत्कृष्ट गायिका अवार्ड) रहेका छन् । उनीहरुलाई प्रमुख अतिथि बाबा राणा, संस्थाका अध्यक्ष देशभक्तसिंह कुँवर, संस्थाका संरक्षक साहित्यकार एवं शिक्षासेवी क्षेत्रबहादुर कुँवर, कलाप्रेमी रामदेवी कुँवर लगायतले दोसल्ला ओढाउँदै अवार्ड सहित सम्मानपत्र हस्तान्तरण गरेका थिए ।
सम्मानित स्रष्टाले सम्मानबाट अझै आफ्नो क्षेत्रमा थप उर्जा थपेको भन्दै संस्थाप्रति आभार प्रकट गरे ।
यस्तै, संस्थाका संरक्षक क्षेत्रबहादुर कुँवरले समाजमा ठूलो योगदान दिएर पनि लुकेर बसेका व्यक्तिलाई संस्थाले सम्मान गर्दैआएको बताए । उनले आफ्नो अर्को संस्था सम्पदा कला मन्दिरले हालसम्म करिब ८५ स्रष्टालाई सम्मान गरिसकेको जानकारी समेत दिए ।
संस्थाका अध्यक्ष देशभक्तसिंह कुँवरले देशको कलासंस्कृति रक्षा गर्दै आफूहरुले स्रष्टाको योगदान चिरस्थायी बनाउन निरन्तर कार्यक्रम गरेकोे बताए ।
स्वागत मन्तव्यसमेत व्यक्त गरेकी अम्बिका राणाले स्रष्टा कुँवरको परिचय दिँदै कुँवर बहुआयामिक व्यक्तित्व भएको चिनाइन् । उनका अनुसार कुँवरका एल्बमसहित ३ दर्जन कृति सार्वजनिक भैसकेका छन् । समारोहको संचालन कार्यक्रम संयोजक संचारकर्मी तिर्सनालक्ष्मी कुँवरले गरेकी थिइन् ।
कार्यक्रममा गायिका बाबा राणा, देविका बन्दना लगायतले गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए ।
पोखरा वाङ्मय प्रतिष्ठानको प्रकाशन तथा मेघा एफमको सहयोगमा कार्यक्रममा सहयोगीलाई सम्मानपत्र वितरण गरिएको थियो ।

Previous articleशेर्पा सोसाइटी स्विटजरल्याण्डले ग्याल्मो लोसार मनाउँदै
Next articleपार्टी र सरकारलाई सुशासन कायम राखेर समाजवाद जान सुझाव

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here