काठमाडौँ- काठमाडौँं नेचुरोपेथी अस्पताल बसन्धुराले गैरआवासीय नेपालीलाई विशेष छुट दिने सम्झौता भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद्को काठमाडौंको बालुवाटारस्थित केन्द्रीय कार्यालयमा बुधबार गैरआवासीय नेपाली संघका प्रमुख कार्यकारी अधिकृत हेमन्तकुमार दवाडी र काठमाडौं नेचुरोपेथी अस्पतालका अध्यक्ष गणेश पाण्डेबीच भएको सम्झौतामा अस्पतालको सेवामा १० देखि २५ प्रतिशतसम्म छुट दिने उल्लेख छ । सम्झौता अनुसार, अस्पतालको सम्पूर्ण उपचारमा १० प्रतिशत, भर्ना भएर बस्ने बिरामीका लागि शैयामा १० प्रतिशत, चिकित्सक परामर्श शुल्कमा २५ प्रतिशत र स्पासम्बन्धी सम्पूर्ण सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको अस्पतालका अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।

सम्झौता समारोहमा एनआरएनएका अध्यक्ष कुमार पन्त, उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठ, सचिव गौरीराज जोशी, अस्पतालका कार्यकारी निर्देशक शारदा गैरे, मेडिकल निर्देशक डा. यञ्जन गैह्रे, प्रबन्धक विनादेवी घिमिरे लगायतको उपस्थिति थियो ।

यो सम्झौताबाट विश्वभर छरिएका गैरआवासीय नेपाली संघका ८० हजार सदस्य र उनीहरुका परिवार लाभान्वित हुने एनआरएनएका उपाध्यक्ष अर्जुनकुमार श्रेष्ठले बताउनुभयो ।

अत्याधुनिक सेवा–सुविधासहित काठमाडौंको बसुन्धारामा स्थापित काठमाडौँ नेचुरोपेथी अस्पताल आधुनिक प्रविधिहरुको माध्यमबाट बिना अप्रेशन र बिना औषधी नैै उपचार गरिने अत्याधुनिक प्राकृतिक अस्पताल हो । यस अस्पतालमा औषधीविहीन चिकित्सा पद्दतिहरु प्राकृतिक चिकित्सा, फिजियोथेरापी, मसाजथेरापी, हाइड्रोथेरापी, अकुपञ्चर तथा अकुप्रेसर, योगथेरापी, भोजन परामर्श साथै जीवनशैली क्लिनिकको माध्यमबाट उपचार गरिन्छ ।

अस्पतालका मेडिकल निर्देशक डा. यञ्जन गैह्रेका अनुसार, अस्पतालमा विशेषगरी दीर्घकालिन रोगहरु कम्मर, गर्दन घुँडा दुखाई, प्यारालाइसिस, नशा च्यापिने तथा नशा सम्बन्धी समस्या, बाथ, हड्डी खिइने तथा हाडजोर्नी सम्बन्धी समस्या, पिनास, माइग्रेन, टाउको दुखाइ, तनाव, डिप्रेसन तथा अन्य मानसिक समस्या, मधुमेह, उच्च रक्तचाप, ग्यास्ट्रिक, पायल्स, कब्जियत, दम, खोकी, महिनावारी गडबडी, मोटपना आदि जस्ता अव्यवस्थित जीवनशैलीका कारण आउने रोगहरुको निदान गरिन्छ ।

अन्तरंग सेवा, बहिरंग सेवा, ल्याब, भीआइपी आवास कक्ष रहेको काठमाडौँ नेचुरोपेथी अस्पतालमा बिरामीमैत्री, शान्त तथा पारिवारिक वातावरणमा दक्ष, अनुभवी तथा विशेषज्ञ प्राकृतिक चिकित्सक, फिजियोथेरापिष्ट, योग थेरापिष्ट, नेचुरल थेरापिष्ट, नर्सिङ स्टाफ र अन्य अनुभवी जनशक्तिबाट बिरामीको उपचार गरिने अस्पतालले जनाएको छ । बिरामीलाई मात्रै नभई निरोगीलाई समेत दीर्घजीवी रहनका लागि यस अस्पतालले व्यवस्थित जीवनशैली क्लिनिक संचालन गरेको छ ।

Previous articleसभामुखमा सापकोटाको एकल उम्मेदवारी दर्ता
Next articleएनआरएन दोस्रो विज्ञ सम्मेलन आगामी अक्टोवरमा धुलिखेलमा हुने

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here