पोखरा – करिब एक वर्ष अघिकै स्थानमा लेवल नेक्स्टले मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्यो । पोखरामा रहेको लर्निङ हाउससँग इभेन्ट मेनेजमेन्ट कम्पनीले चिप्लेढुङ्गाको क्याफे दी गार्डेनमा वर्षअघि एक कार्यक्रम लक्षीत पत्रकार सम्मेलन गरेको थियो ।
तर, अहिलेको विषयवस्तु बिल्कुल फरक छ । लर्निङ हाउसको ३ वटा कार्यक्रममा स्वयंसेवकको रुपमा इभेन्ट व्यवस्थापन गरिदिएको लेवल नेक्स्टलाई विभिन्न आरोप र धम्की आएपछि जानकारी दिन पत्रकार सम्मेलन गरिएको थियो ।
लेवल नेक्स्टका शिशिर शर्माले भने ‘ कार्यक्रम व्यवस्थापन, डिजाइन, फोटो र भिडियोको काममा हामीले स्वंसेवक कार्य गरेका थियौ । जब हामी त्यो संस्था नभएर प्रा.लि. हो भन्ने थाहा भयो, हामीले उनीहरुलाई सहयोग गर्न छोडेका थियौ । अहिले आएर हामीले समेत पैसा खाएको भनेर आरोप लगाइएको छ । त्यसप्रति हामी खेद प्रकट गर्दछौं ।’
पछिल्लो समय लर्निङ हाउस प्रालीकी मिसेल अलेक्जेंद्रा वेल्सबारे पोखराका विभिन्न मिडियामा आएको समाचारको विषयलाई लिएर लेवल नेक्स्टका सदस्यलाई यौन दुव्र्यवहारको उजुरी हाल्ने काम भएको शर्माको भनाई छ । लेवल नेक्स्टका सदस्यहरुलाई फोन मार्फत तेस्रो पक्षका ब्यक्तिहरुले एक बर्ष अघि फोन मार्फत धम्की दिएका थिए अहिले आएर अंगभंग गरिदिने भन्ने सुचना पाएको शर्माले सुनाए ।
‘पोखरामा निकै नाम चलेका केही व्यापारी र केही पर्यटन व्यावसायीहरुले उसलाई जोगाउन वकिल खोजी दिने, उनीहरुको घर भित्र, रेष्टुरेन्टमा मिटिङ राखेर लेभल नेक्स्टलाई सिध्याउने र लेभल नेक्स्टका सदस्यहरुलाई अंगभंग गरिदिने भनेर तेस्रो पक्षबाट घुमाउरो पाराले हामी समक्ष जानकारी आएका छन् । हामी अहिले कसैको नाम लिन चाहँदैनौ । भोलीको दिनमा भैपरी आउने तथा हामी उपर कसैलाई तलमाथि भयो भने हामी व्यवसायीको नाम नै किटानी गर्ने छौं ’ उनले भने ।
लेवल नेक्स्टले, विभिन्न ब्यक्तिमार्फत ‘यो ठाउँ छोडेर जान’ धम्की आएको उल्लेख गर्दै पत्रकार सम्मेलनमार्फत सुरक्षाको प्रत्याभुतीको माग गरेको छ ।

नेपालको तस्विर देखाएर ‘डोनेसन’

लेवल नेक्स्ट पोखरेली युवाहरुले हाँक्दै आएको कम्पनी हो । प्रेस विज्ञप्ती समेत जारी गर्दै कम्पनीले एक विदेशीले नेपाली निर्दोषलाई फसाउन खोजेको बताएको छ ।
विज्ञप्तीमा भनिएको छ ‘हाम्रो देशको फोटो बेचेर करौडौं रकम उठाउने विदेशीलाई जोगाउन हामीलाई आँखी बनाएर सिध्याउने खेल भइराखेको छ । गल्ती नगरी बस्दा आफ्नै ज्यानको सुरक्षाको लागि आहुती गर्नु पर्ने अवस्था । यो कस्तो बिडम्वना हो । उसैको कार्यक्रममा यहाँका व्यक्तिहरु कार्यक्रममा गएको सबैलाई थाहा हुँदा पनि उसलाई कारवाही गर्न हाम्रो कानुनले नभेट्ने र निर्दोष व्यक्तिलाई यता झुठो मुद्दा बनाएर फसाउन खोजिने र धम्की दिने कहाँ सम्मको न्यायोचित हो ? नेपालको कानुन अनुरुप उसलाई कारवाही होला नहोला, हाम्रो गरिबी बेचेर पैसा उठाउन पाइदैन । हामी राष्ट्र, राष्ट्रियता र स्वाभिमानका विषयमा भने प्रष्ट छौं ।’
लर्निङ हाउसकी मिसेलले नेपालको तस्विर राखेर डोनेसन उठाउने गरेको समाचार विभिन्न मिडियामा प्रकाशन भएको थियो । उठाइएको डोनेसन सिधै मिसेलको अमेरिकी बैंक अकाउन्टमा पुग्छ , जसको नाम खाता लाइफ राखिएको छ ।

Previous articleपिपिपी आयोजनाबारे पाेखरा महानगरद्दारा सांसदसँग छलफल
Next articleप्राकृतिक विपत्तिबाट जोगिन आवश्यक सजगताका लागि प्रमबाट आह्वान

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here