काठमाडौं -उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नेपालको ऊर्जा क्षेत्रको विकासका लागि चीन सरकारको सहयोग आफूहरूका लागि महत्वपूर्ण रहेको बताउनुभएको छ । चीनको युनान प्रान्तका गभर्नर रुवान च्याङफा आज भएको भेटवार्तामा मन्त्री पुनले सो आग्रह गर्नुभएको हो । सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा द्विपक्षीय हितका साथै ऊर्जा क्षेत्रमा लगानी गर्नेबारे छलफल भएको मन्त्री पुनको सचिवालयले जनाएको छ ।

मन्त्री पुनले चिनियाँ राष्ट्रपति सी चिनपिङको गत महिना भएको नेपाल भ्रमणबाट दुई देशबीचको सम्बन्ध सुदृढ बनेको भन्दै उच्चस्तरीय भ्रमणले जनस्तरमा समेत सम्बन्ध सुमधुर हुने विश्वास व्यक्त गर्नुभएको थियो । युनान प्रान्तका जनतालाई नेपाल भ्रमणका लागि सन्देश प्रवाह गरिदिन आग्रह गर्नुभयो ।

भेटमा युनान प्रान्तका गभर्नर च्याङफाले आफू पनि चिनियाँ राष्ट्रपतिको भ्रमणपछि नेपाल भ्रमणमा आएको भन्दै युनान प्रान्तको सरकार नेपालमा कृषि, ऊर्जा, प्रविधि र पर्यटन क्षेत्रमा सहकार्य गर्न इच्छुक रहेको बताउनुभएको थियो । उहाँले तामाकोशी तेस्रो जलविद्युत् आयोजनामा युनान सरकारले लगानी गरेको भन्दै यो आयोजना शुरुआत मात्र भएको र आगामी दिनमा युनानले जलविद्युत् क्षेत्रमा थप लगानी गर्ने धारणा राख्नुभयो ।

उहाँले चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा काठमाडौँ–केरुङ रेलवे परियोजनाको अध्ययन गर्ने समझदारी भएको भन्दै रेलवे परियोजना निर्माणसँगै युनान प्रान्त र नेपालको व्यापारमा वृद्धि हुने विश्वास व्यक्त गर्नुभयो । युनान प्रान्तका गभर्नरले कुनमिङमा आयोजना हुने ‘कुनमिङ साउथ एशिया एक्स्पो’मा सहभागी हुन मन्त्री पुनलाई निमन्त्रणासमेत दिनुभएको मन्त्री पुनका प्रमुख स्वकीय सचिव दुर्गाप्रसाद चापागाईंले जानकारी दिनुभयो ।

यसैबीच युनान प्राप्तका गभर्नर च्याङफा आज पोखरा आइपुग्नु भएको छ । उहाँलाई पोखरा विमानस्थलमा पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीले स्वागत गर्नुभएको थियो । गभर्नरसँग गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ, आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ, पोखरा महानगरका प्रमुख जिसी लगायतसँग अहिले होटल ग्रान्डमा भेटवार्ता भइरहेको नेपाल चीन जनमैत्री संघ पोखराका अध्यक्ष विश्वशंकर पालिखेले जानकारी दिनुभयो।

Previous articleपाँचौं संस्करणको टुर दि पोखरा हुने
Next articleराष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको अध्यक्षमा रमेश बि.जी. निर्वाचित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here